images
images

रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको सँख्या ७ पुग्यो, चार जना युक्रेनी सेनाको हिरासतमा

  • ५ पुष २०८०, बिहीबार ०९:१६

काठमाडौं । युक्रेन र रुस वीच लामो समयदेखि युद्ध जारी रहेका बेला रुसी सेनामा भर्ना भएका ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ भने ४ जना युक्रेनी हिरासतमा रहेका छन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुस–युक्रेन युद्धमा परी ७ जनाको मृत्यु भएको पुष्टि गरेको हो । पछिल्लो पटक रुसी सेनामा कार्यरत एक नेपालीको मृत्यु भएसँगै मृतकको संख्या ७ पुगेको हो । परराष्ट्र मन्त्रालयका अनुसार (राहदानी नम्बर ०९४७३६३२) रुसी सेनामा कार्यरत कुन्दन सिंह नागलको युद्धको क्रममा मृत्यु भएको छ । यसअघि दोलखाका राजकुमार रोका, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङजाका पितम कार्की र इलामका गंगाराज मोक्तानको युद्धको क्रममा मृत्यु भएको पुष्टि भइसकेको छ ।

युक्रेनी सेनाको हिरासतमा चार नेपाली

युक्रेनी सेनाले काभ्रेपलाञ्चोकका एकसहित चारजना नेपालीलाई बन्धक बनाएको छ । रुसी सेनामा भर्ती भएको अवस्थामा युद्धका क्रममा उनीहरु युक्रेनी सेनाको नियन्त्रणमा रहेका छन् । बन्धक हुनेमा काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, बर्दियाको राजापुर नगरपालिका–१ का विवेक खत्री, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्र्रतिक पुन रहेका छन् । युक्रेनमा चार जना नेपाली नागरिकलाई बन्दी बनाएको सन्दर्भमा नेपाल सरकारले गम्भीर ध्यानाकर्षण गराएको छ । बन्दक बनाइएका नेपाली र मृत्यु भएकाको शव छिटो भन्दा छिटो नेपाल फिर्ता गर्न युक्रेनी सरकारलाई परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन, घाइते र पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।

१५ दिनको तालिम पछि युद्ध मैदानमा

रुसी सेनामा गएका नेपालीलाई १५ दिनको तालिमपछि युद्धमा पठाइने गरेको खुलासा भएको छ । रुस पठाउने गिरोहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले रुसी सेनामा जाने नेपालीलाई १५ दिन हतियार चलाउन तालिम दिएर युद्धग्रस्त स्थानमा खटाउने गरेको पाइएको हो । रुसी सेनाबाट भागेर आएका नेपालीहरुलाई बोलाएर प्रहरीले अनुसन्धान गर्ने क्रममा यस्तो जानकारी प्राप्त भएको हो । रुसी सेनामा भर्ती हुन नेपालीहरुलाई अनुमति नभए पनि भारत, दुबई, कतार, टर्की लगायत देशबाट रुस पुग्ने गरेका छन् । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै भिजिट भिसामा १ हजार २ सय २७ जना नेपाली रुस भ्रमणका लागि गएको अध्यागमन विभागले जनाएको छ ।