images
images

इजरायल–हमासबीच चार दिन युद्धविराम गर्ने सम्झौता, ५० बन्धकलाई रिहा गरिने

  • ६ मंसिर २०८०, बुधबार १०:३०

इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा चार दिनको अस्थायी युद्धविरामका क्रममा बन्धकलाई रिहा गरिने उल्लेख गरिएको हो । रिहा गरिने ५० बन्धकमा महिला र बालबालिका हुनेछन् । इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध रहेको उल्लेख छ । सरकारले सो उद्देश्य हासिल गर्न पहिलो चरणको रूपरेखा स्वीकृत गरेको र चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिने बताइएको छ ।

आज बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले सो सम्झौतालाई अनुमोदन गरेको बीबीसीले जनाएको छ । गत अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा एक हजार २०० मानिसको मृत्यु भएको थियो । २०० जनालाई हमासले बन्धक बनाएको थियो । त्यसयता इजरायल र हमासबीच युद्ध जारी छ । इजरायलको आक्रमणमा परि गाजामा १४ हजारभन्दा धेरै मानिसको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा पाँच हजारभन्दा बढी बालबालिका थिए ।