images
images

रहरले होइन बाध्यताले रुस पुगे युवा, १२ जनाले ज्यान गुमाएपछि ४६ जना फर्किए स्वदेश

काठमाडौं । लामो समयदेखि रुस–युक्रेनबीचको युद्ध चलिरहेको छ । युद्धकै क्रममा रुसले रुसी सेनामा बाहिरी देशबाट गएका युवाहरुलाई धमाधम धर्ती गरिरहेको छ । जसमा नेपालका धेरै युवाहरु पनि रुस गएर सेनामा भर्ती भए । रुस–युक्रेनबीचको युद्ध भइरहेको जानकारी हुँदा–हुँदै पनि अवैध तरिकाले नेपालका धेरै युवाहरु रुस पुगेको तथ्य केही समय अघि मात्रै सार्वजनिक भएको छ ।

जुन रुसमा धमाधम युद्धमा परि नेपाली युवाहरुको मृत्यु भएको खबर आएपछि सरकारले खोजीनीति गर्दा २ सय भन्दा बढी युवाहरु रुसी सेनामा रहेको तथ्य खुलेको हो । बेरोजगारी, कम आम्दानी र अभावलेनै युवाहरु युद्धमा होमिन पछि परेनन् ।

हालसम्म दोलखाका एक सहित १२ जनाले युद्धकै क्रममा ज्यान गुमाए । कतिको ऋण तिर्ने सपना अस्तायो, कति बुबा आमाको साहारा मेटियो त कतिपय युवतीको सिन्दुर पुछियो । कतिपय बालबालिका जन्मिएको एक महिना नहुँदै टुहुरा, टुहुरी भए । यो कति विडम्बना । रुसी सेनामा जानेहरु २० देखि ४० वर्ष पार नगरेका युवाहरु धेरै भेटियो । गत कात्र्तिक २९ गते जुन दिन नेपालमा भाई टिका चलिरहेको थियो ।

सोही दिन रुसमा भने तीन जवान युवाले ज्यान गुमाए । भाई टिकाको दिन मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका ३५ वर्षीय राजकुमार रोका सहित तीन जनाले युद्धमा ज्यान गुमाएको खबर प्राप्त भएपछि रुसमा धेरै नेपाली युवाहरु गएर भर्ती भएको तथ्य खुलेको थियो । निरन्तर मृत्युको घटना सार्वजनिक हुन थालेपछि हालसम्म युक्रेनसँगको युद्धका कारण बढ्दो तनावपछि रोजगारीका लागि रुसमा पुगेका ४६ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । मस्कोस्थित नेपाली राजदूतावासको समन्वयमा उनीहरू विभिन्न मितिमा स्वदेश फर्केका हुन् । पासपोर्ट दलालको कब्जामा रहेका नेपालीहरू पनि नेपाल आउन प्रयासरत छन् ।

आज मात्रै रुसी सेनामा भती भई गोली लागेर घाइते भएका एक युवक नेपाल आइपुगेका छन् । रुसी सेनामा भर्ती भई गोली लागेका कैलालीका २४ वर्षीय युवक आज नेपाल आईपुगेका हुन् । उनलाई टिचिङ अस्पतालमा भर्ना गरिएको छ । यात्रामा स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ अस्पतालमा भर्ना गरिएको हो । ति युवकको बायाँ हात र दायाँ खुट्टामा गोली लागेको थियो । रुसकै अस्पतालमा गोली निकालिएका उनको घाउ निको भइसकेको भएपनि यात्राको क्रममा असहज भएपछि अस्पताल भर्ना गरिएको हो ।नेपाली दूतावासको पहलमा नेपाल आएका उनले नयाँ जिवन पाएको छ । भन्छन्‘ बल्ल आइपुगे मातृभूमिमा । ’ अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । युवक दलालमार्फत् गत मंसिर ४ गते रुस पुगेका थिए छ ।

उनीहरूलाई आवश्यक ट्राभल डकुमेन्ट बनाएर पनि दूतावासले स्वदेश फर्कन समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयको भनाई छ । नेपालबाट आफन्त फर्काउन माग गर्दै करिब डेढ सय निवेदन परराष्ट्र मन्त्रालयमा पेश भएको परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेल बताउँछन् ।

युक्रेनमा चार युवा बन्धक

रुसी सेनामा भर्ती भएका नेपालीमध्ये ४ जना युक्रेनको बन्धकको सिकार हुन पुगेका छन् । रुसी सेनामा कार्यरत नेपालीमध्ये युक्रेनसँगको युद्धका क्रममा चारजना युक्रेनी सेनाको नियन्त्रणमा पुगेका हुन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर –६ का युवक सिद्धार्थ ढकाल, बर्दिया राजापुर–१ का विवेक खत्री, मोरङ लेटाङ–२ का विकास राई र रोल्पा रुन्टीगढी–८ का प्रतीक पुन युक्रेनको कब्जामा छन् ।

अहिले युक्रेनमा बन्दी रहेका ती युवाहरुको परिवारले पनि बन्दी छुटाउन पहल गरिदिन परराष्ट्रको कन्सुलर सेवा विभागमार्फत आग्रह गरिरहेका छन् । देशका होनहार युवाहरुले धमाधम ज्यान गुमाइरहँदा नेपाल सरकारले पनि रुस जान मनाई गर्नुको साथै रुसमा रहेकाहरुलाई छिटो भन्दा छिटो नेपाल फर्काउन पहल गरिरहेको छ । रुसी सेनामा रहेका आफ्ना सन्तान सम्पर्कविहीन भएको भन्दै खोजी गरेर स्वदेश ल्याइदिन पनि कन्सुलरमा कतिपयका परिवारजन धाइरहेका छन् ।

रुसमा केही समय अघिसम्म १० जनाको मृत्यु भएको सरकारले पुष्टि गरेपनि पछिल्लो पटक थप दुई जनाको मृत्युको खबर प्राप्त भएको छ । सरकारले भने यसबारेमा केही खुलाएको छैन । यद्धपी, परिवारजनमा भने उनीहरुको मृत्युको खबर प्राप्त भइसकेको छ । अहिले यति धेरै युवाहरु रुसमा किन पुगे र कसरी पुगे भन्ने कुराको खोज पनि सुरु भएको छ । कतिपय रुसमा गएका युवाहरुले आफुहरु जोखिमबारे जानकार हुँदा हुँदै पनि अभावले रुसमा पुगेको समेत बताएका छन् । त्यसैले रहरले नभई रुसी सेनामा बाध्यता र अभावले हिड्नु देशका युवाहरुको बाध्यता नै हो । विगतमा नेपाल प्रहरी र नेपाली सेनामा रहेका युवाहरु पनि रुस पुगेका छन् । उनीहरु नेपालमा भन्दा बढी तलब पाउने आशले रुस युद्धामा होमिएका हुन् ।

रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनसँगको लडाइँमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी, कुन्दनसिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ ।

सरकारले साउन १६ र मंसिर १८ मा विज्ञप्ति जारी गर्दै युद्धग्रस्त मुलुकमा भर्तीका लागि रुस नजान आग्रह गरेको थियो ।