images
images

दोलखामा किवी खेतीमा रोगको संक्रमण फैलदैँ, किसानहरु चिन्तित

  • १४ जेष्ठ २०८०, आईतवार ०७:५१

दोलखा । दोलखामा केही समय यता किवी फल खेतीमा बिभिन्न रोग किराको संक्रमण देखिन थालेको छ ।

किवी फल व्यवसायिक खेती हुँदै आएको दोलखामा केही समय यता विभिन्न रोग किराले सताउन थालेपछि किसानहरु चिन्तित बनेका हुन् । दोलखाको भीमेश्वर, जिरी नगरपालिका, शैलुङ र कालिञ्चोक गाउँपालिकाका किवी बगैँचाहरुमा बिभिन्न रोग किराको संक्रमण देखिएको हो । जसअनुसार निमाटोड, जरा कुहिने र बोट सुक्ने, फल कुहिने, खुम्रे किरा लाग्ने, खपटे किरा पात खाने र हाँगा प्वाल पर्ने लगायतका समस्याहरु देखिएका हुन् । किवी फलमा बिशेषगरी निमाटोड, जरा कुहिने सुक्ने लगायतका समस्याले बढी दुख दिने गरेको प्रधानमन्त्री आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई दोलखाकी प्रमुख प्रज्ञा श्रेष्ठले जानकारी दिनुभयो । किवी फल खेतीको सुरुवाती वर्षमा ठूलो समस्याको रुपमा नदेखिएको रोग, कीराहरुको समस्या अहिले किसानहरुको लागि चुनौतीको विषय बन्दै गैरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार किवी खेतीमा देखिने यस्ता रोग किराले उत्पादनमा समेत ह्रास ल्याउने गर्दछ ।

किवी खेती गर्ने क्रममा देखिने निमाटोड भनेको बिरुवाको जरामा साना साना गिर्खा तथा गाँठा देखिनु हो । यो रोगको संक्रमण देखिएपछि बढी सुक्खा तथा गर्मी हुने समयमा बिरुवाहरु ओईलाउँछन् र बिरुवाको बृद्धि विकास ठप्प हुन्छ । जसले उत्पादनमा ह्रास ल्याउने गर्दछ । खपटे किराहरुले मुख्यतया कलिला लहराहरुलाई क्षति पु¥याउने गर्दछन् । खपटे किराहरुले कोपिला, पात, फुल कोपिला, फल र नयाँ अंकुर खाईदिन्छन् । जसका कारण फल उत्पादन र गुणस्तरमा क्षति पुग्छ । किवी जोन दोलखाले किवी खेतीमा देखिने रोग कीराहरुको नियन्त्रण र व्यवस्थापन गरी किवी फलको उत्पादन र उत्पादकत्वमा हुने क्षति न्यूनिकरणका लागि बाली संरक्षण सेवा उपलब्ध गराउँदै आएको छ । यसका साथै भरपर्दो रोगमुक्त क्षेत्रबाट ल्याएको बिरुवा लगाउन,बगैँचा सरसफाईमा विशेष ध्यान दिन किवी जोन दोलखाले आग्रह गरेको छ ।