images
images

शैलुङमा पुगे कलाकार र विदेशी पर्यटक, ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम सुरु

  • ११ आश्विन २०८०, बिहीबार १६:५९

जिरी (दोलखा) । दोलखाको पर्यटकीयस्थल शैलुङमा आजदेखि ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम सुरु भएको छ ।

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङमा पर्यटन प्रवद्र्धनको लागि ‘स्पार्क एड्भेन्चर २०२३’ले ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रमको आयोजना गरेको हो । आज विहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एड्भेञ्चरको उद्घाटन गरिएको छ । उद्घाटनपछि २०० भन्दा बढीको टोलीले शैलुङको यात्रा सुरू गरेको हो । सो कार्यक्रममा देशका नाम चलेका कलाकारहरु सहभागी हुनेछन् । हिजो मात्रै विश्व पर्यटन दिवशको अवसरमा क्यानडा, फ्रान्स र स्वीजरल्याण्ड लगायतका देशबाट २२ जनाको टोली शैलुङ क्षेत्रमा पुगेका छन् । शैलुङ घुम्न आएका ती विदेशी पर्यटकहरुलाई शैलुङ गाउँपालिकाले स्वागत गरेको छ । पालिका अध्यक्ष रिमलबाबु श्रेष्ठ र उपाध्यक्ष पार्वती कार्की थापा लगायतले पालिकामा स्वागत गरेका थिए । पर्यटन दिवशको अवसरमा आएका उनीहरु आज, भोली र पर्सीसम्म शैलुङमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।

प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको शैलुङ प्रवद्र्धनका लागि कलाकारहरु पनि जुट्ने भएका छन् । पर्सिसम्म जारी रहने कार्यक्रममा कलाकारहरु निखिल उप्रेती, विजय लामा, प्रेमराजा महत, गरिमा शर्मा, यशकुमार, सन्दीप क्षेत्री, लेखक बुद्धिसागर लगायतले सहभागिता जनाउने छन् । शनिबारसम्म हुने कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका प्रतिनिधि पनि सहभागि हुने कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिनुभयो ।

कलाकार सहितको टोलीले आज बिहान काठमाडौँदेखि सैलुङको लागि यात्रा सुरु गरेका छन् । भोली शुक्रबार चौँरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको तयारी छ । कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्य पत्ता लगाउने इच्छा भएका सहभागीले भाग लिनेछन् । साहसिक पर्यटनको क्षेत्रमा समेत काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । गत वर्ष लमजुङको भुजुङमा भीर मौरीको सिकार गरेर सुरु भएको एड्भेन्चरको दोस्रो संस्करण शैलुङ र शैलुङ क्षेत्रमा पाइने चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो । यो कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन गर्ने रहेको आयोजकले जनाएको छ ।

शैलुङडाँडा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित छ । यो ठाउ समुन्द्री सतहबाट करीब ३४ सय मिटर अग्लो स्थानमा रहेको छ । शैलुङ दोलखाको दक्षिण पश्चिममा अवस्थित रहेको छ । शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ । जहाँ जनैपूर्णिको दुई दिन अघि भव्य मेला लाग्ने गर्दछ ।

साथै नयाँ वर्ष, बालाचतुर्दशी, बारवर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ । शैलुङडाँडा १०० वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर वनेको छ ।