images
images

नगर प्रमुखपछि प्रदेश सांसदको यात्रामा केसी, भन्छन्-‘चुनाव मैं जित्छु’

  • १३ कार्तिक २०७९, आईतवार १०:०६

दोलखा । नेकपा एमालेवाट दोलखाको प्रदेशसभा २ मा उम्मेदवार बनेका भरत केसीले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफु सहित एमालेका सवै उम्मेदवारले जित हात पार्ने उहाँले बताउनुभयो । हाम्रो रेडियोको कार्यक्रम साझा सरोकारमा बोल्दै उहाँले नेकपा एमालेको नीति, विधि र नेतृत्वको परिपक्वता नै निर्वाचन जित्ने आधार भएको बताउनुभयो । प्रदेश २ मा २०४८ सालपछि पहिलो पटक भुगोलको नेतृत्व गर्ने अवसर पाएको भन्दै नेता केसीले बलियो संगठन, जुझारु कार्यकर्ता भएकाले आफुहरुको जित सुनिश्चित भएको उहाँको भनाई छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग प्रतिश्पर्धा गर्दा पनि भीमेस्वर नगरपालिका, शैलुङ र बिगु गाउँपालिकामा एमाले उपप्रमुख सहित कार्यपालिकामा बहुमत हुनेगरी बिजयी भएको भन्दै उहाँले सोही मतको आधारमा पनि आफ्नो जित सुनिश्चत रहेको तर्क गर्नुभयो ।

उम्मेदवार केसीले दोलखा एमालेमा कुनै गुट र विवाद नरहेको जिकिर गर्दै एमालेको जनमत र संगठन देखेर गठबन्धन अत्तालिएको आरोप लगाउनुभयो । लामो समयदेखिको राजनीतिक लगानी र दोलखाली कार्यकर्ताको भावना अनुसार पार्टीले आफुलाई उम्मेदवार बनाएको दावी गर्दै उहाँले दोलखालाई पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्ने, जिल्लालाई एजुकेशन हव बनाउने र रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्ने कुरालाई आफुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । दोलखाली जनताको आयआर्जन र समृद्धिको लागि एमालेले ५ वर्षसम्म काम गर्ने उहाँले आश्वासन दिनुभयो ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ‘ओभर कन्फिडेन्स’ भएका कारण एमालेले दोलखाका धेरै स्थान तह गुमाएको उहाँको भनाई छ । मंसिर ४ गते हुने आम निर्वाचनमा दोलखा प्रदेश २ वाट दुई जना उम्मेदवार वीच मुख्य प्रतिश्पर्धा हुँदैछ । प्रदेश २ मा लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार बर्मा लामा र नेकपा एमालेका उम्मेदवार भरत केसीवीच प्रतिश्पर्धा हुँदैछ । लामा नेपाली कांग्रेसका जिल्ला सभापति हुन् भने केसी भीमेस्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भीमेस्वर नगरपालिका तथा शैलुङ, बिगु र कालिन्चोक गाउँपालिकामा गठवन्धनका उम्मेदवार बिजयी भएका थिए । यसअघिको निर्वाचनमा एमालेले भीमेस्वर, शैलुङ र कालिन्चोक गाउँपालिकामा बिजयी हात पारेपनि पछिल्लो स्थानीय तहको निर्वाचनमा तीन वटै स्थानीय तह गुमाएको छ । प्रदेशसभा २ मा पर्ने चार वटा पालिका मध्ये शैलुङ र बिगु नेकपा माओवादी केन्द्रले तथा भीमेस्वर नगरपालिका र कालिन्चोक गाउँपालिकामा नेपाली कांग्रेस बिजयी भएको थियो । यद्धपि, भीमेस्वर, शैलुङ र बिगु गाउँपालिकामा एमालेको उपप्रमुख सहित कार्यपालिकामा बहुमत छ ।