images
images

भूकम्पमा कारागार भत्किएपछि सिन्धुपाल्चोकबाट फरार भएका एक कैदी ६ वर्षपछि पक्राउ

  • १८ माघ २०७८, मंगलवार १७:५२

दोलखा । विनाशकारी भूकम्पका कारण सिन्धुपाल्चोक कारागार भत्किएपछि फरार रहेका कर्तव्य ज्यान सम्बन्धी मुद्धाका एक कैदी ६ वर्षपछि पक्राउ परेका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर १ दुम्जाका ३६ वर्षिय बनकाईला भनिने सिताराम भूजेललाई सिन्धुली प्रहरीले फरार रहेको ६ वर्षपछि पक्राउ गरेको हो । उनलाई आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका एक व्यक्तिको हत्या आरोपमा पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान मुद्धामा सिन्धुपाल्चोक जिल्ला अदालतले १९ वर्ष ३ महिना २ दिन कैद सजायको फैसला गरेको थियो ।

सो मुद्धामा सिन्धुपाल्चोक कारागारमा रहेका उनी २०७२ सालको भूकम्पले कारागार भत्किएपछि फरार भएका थिए । कारागार भत्किँदा फरार भएका भजुेललाई अदालतले आफुसँगै अन्य कैदीलाई भगाउन सहयोग गरेको अभियोगमा ९ वर्ष ११ महिना कैद सजायको फैसला सुनाएको थियो । यो सहित २८ वर्ष १० महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रहि फरार भएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही माघ १६ गते आफ्नै छिमेकीलाई कुटपिट गरि घाईते बनाएको आरोपमा प्रहरीले भुजेललाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथि अनुसन्धान गर्नेक्रममा कर्तव्य ज्यान मुद्धा र कैदीवन्दी भगाएको मुद्धामा फरार रहेको खुलेको थियो । लामो समयदेखि फरार रही पक्राउ परेका उनलाई सिन्धुपाल्चोक जिल्ला अदालततमा पेश गरेकोमा अदालतको आदेश अनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।