images
images

माथिल्लो तामाकोशीको लिलामी शेयरको बाँडफाँटमा ढिलाइ, आवेदकको करिब १० अर्ब रुपैयाँ फिर्ता भएन

  • १८ माघ २०८०, बिहीबार १८:५८

दोलखा । माथिल्लो तामाकोशीको लिलामी शेयरको बाँडफाँटमा ढिलाइ भएको छ ।

अपर तामाकोशी हाइड्रोपावरले हकप्रदमा नबिकेको लिलामी शेयरको बिक्रीका लागि गत पौस १३ गतेदेखि पौष २९ गतेसम्म आवेदन माग गरेको थियो । तर, लिलामी शेयरको बिक्रीका लागि आवेदन म्याद सकिएको १८ दिन बितिसक्दा पनि शेयर बाँडफाँट हुन नसकेको हो । माघ ५ गते शिलबन्दी बोलपत्र खोलेर प्रारम्भिक कटअफ प्राइस १ सय ४६ रुपैयाँ निर्धारण समेत भएको थियो । कम्पनीले आवेदकहरुबाट संकलन गरेको १३ अर्ब रुपैयाँमध्ये करिब १० अर्ब रुपैयाँ सेयर नपाउनेहरुलाई फिर्ता गर्नुपर्नेछ । तर, कम्पनीको खातामा गइसकेको सो रकम फिर्ता भएको छैन् ।

बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले ठूलो परिमाणको आवेदन भएको र सबैको भुक्तानी राफसाफमा समय लागेकाले बाँडफाँट अवधि लम्बिएको जनाएको छ । सनराइज क्यापिटलका सीईओ विजयलाल श्रेष्ठले आवेदकले आवेदनमा तोकेको रकम क्रमिक रुपमा सिस्टममा आवद्ध हुने र ३० हजार आवेदकको करिब साढे १३ अर्ब रकम रिकन्सिलेसन गर्न समय लाग्ने भएकाले लिलामी शेयर बाँडफाँट हुन समय लागेको बताउनुभयो । उहाँका अनुसार रिकन्सिलेसनको काम सकिसकेकाले आगामी सोमबारदेखि सेयर नपाउनेहरुको खातामा पैसा आउनेछ ।

सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले भने आवेदकलाई रकम फिर्ता गर्नु बिक्री प्रवन्धकको जिम्मेवारी हुने बताउनुभयो । उहाँले माथिल्लो तामाकोशीको हकमा १ सय ४६ रुपैयाँ कटअफ प्राइस हो भने त्योभन्दा तलको मूल्य तोकेर आवेदन दिएकाहरुलाई कम्पनीले छिटो रकम फिर्ता गरिदिनुपर्ने बताउनुभयो । रकम फिर्ता गर्न यति धेरै समय लगाउनु बिक्री प्रवन्धकको कमजोरी भएको उहाँको भनाइ छ ।

कम्पनीले १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीले यसअघि गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो बेला आवेदन नपरेको सेयरलाई कम्पनीले लिलामी मार्फत् बिक्री गर्न थालेको हो । तर, आवेदन दिएको १८ दिन बितिसक्दा पनि लिलामी सेयर बाँडफाँट हुन नसकेको हो ।