images
images

आज पनि मौसम बद्ली रहने, वर्षासँगै किसानमा खुसीयाली

  • ८ चैत्र २०८०, बिहीबार ०८:०९

काठमाडौँ । हिजो देखि बद्ली भएको मौसम आज पनि बद्ली रहने भएको छ ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण आज पनि मौसम बदली रहने भएको हो । मौसम बदली भएसँगै किसानहरु खुसी भएका छन् । उच्च हिमाली क्षेत्रको हिउँदे बाली आलु खेती गर्ने र मकै बाली लगाउने किसानमा उत्साह छाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धेरै समयपछिको मौसमले किसानलाई राहत दिएको हो । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात भएको छ ।

यस्तै दोलखामा एक्कासी लामो समयपछि मौसम बदली भएपछि अत्याधिक चिसो बढेको छ । हिजो बिहानैदेखि मौसममा आएको परिवर्तनका कारण जिल्लाको अधिकांश स्थानमा हल्का वर्षा हुनुका साथै हिमपात पनि भएको हो । पर्यटकीय तथा धार्मिक स्थलहरु कालिञ्चोकमा हिमपात भएको हो ।
आज दिउँसो भने देशभर आंशिक देखि साधारणतया बद्ली रहने भएको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा देशका बाँकी भूभागहरुमा चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भोली पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार तीनपछि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना रहेको छ ।