images
images

दोलखाको च्छोरोल्पा सहित नेपालका २१ हिमताल जोखिममा

  • १० बैशाख २०८१, सोमबार १५:३७

काठमाडौँ । दोलखाको च्छोरोल्पा सहित नेपालका २१ हिमताल जोखिममा रहेको अध्ययनले देखाएको छ ।

अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को अध्ययनले च्छोरोल्पा सहित नेपालका २१ हिमताल जोखिममा रहेको देखाएको हो । ईसिमोड र युएनडीपीको अध्ययन अनुसार दोलखाको च्छोरोल्पा हिमताल, सोलुखुम्वुको ईम्जा, मनास्लु हिमश्रृंखलाको ठुलागी, वरुण र चामलाङ लगाएतका हिमताल उच्च जोखिममा रहेको देखिएको हो । अध्ययनले जोखिममा रहेका २१ मध्य केही हिमताल उच्च जोखिममा रहेको भन्दै विस्फोटको खतरा औँल्याएको छ । सो अध्ययन अनुसार नेपालमा दुई हजार ८६ हिमताल रहेका छन् । माटो, वालुवा र गेग्रानसहितको संवेदनशील भूगोलमा हिमतालहरु रहेकाले जुनसुकै बेला हिमताल फुट्ने र बाढि पहिरोको रुप लिन सक्ने सम्भावना रहेको जलवायु विज्ञ डा. विमल रेग्मीले बताउनुभयो । विश्वव्यापी तापक्रम वृद्धिका कारण तीव्र रुपमा हिउँ पग्लिरहेकाले त्यसले निम्त्याउने प्राकृतिक विपदले उपल्लो र तल्लो तटीय क्षेत्रमा कुनै पनि बेला ठुलो विनाश ल्याउन सक्ने उहाँको भनाई छ ।

हिमताल विस्फोटको उच्च जोखिममा रहेपछि दोलखाको च्छोरोल्पा र सोलुखुम्वुको ईम्जा हिमतालमा यसअघि पनि पानीको सतह घटाएर जोखिम न्युनीकरण गरिएको थियो । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा हिजो हिमपहिरो खसेपछि मुलुकका अन्य हिमताल पनि जोखिममा रहेको भन्दै सर्तकता अपनाउनुपर्ने निश्कर्ष निकालिएको हो ।