images
images

दोलखाको पर्यटन प्रवर्धनका लागि काठमाण्डौंमा फोटो प्रदर्शनी

  • १७ असार २०७९, शुक्रबार १८:४०

काठमाण्डौं । दोलखालाई चिनाउन काठमाडौंमा फोटो प्रदर्शनी सुरु भएको छ ।

काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्ग पर्यटन बोर्डमा दोलखालाई थप चिनाउन जिल्लाको विविधता झल्काउने खालका फोटो मेला सुरु भएको हो । संस्कृति तथा पर्यटन मन्त्रालय बाग्मती प्रदेशका मन्त्री दीपेन्द्र श्रेष्ठले प्रदर्शनीको उद्घाटन गर्नुभएको छ । आजदेखि बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा दोलखा मिडियाले आयोजना गरेको प्रर्दशनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, पुराना तथा नयाँ बस्ती, दोलखाबाट देखिने हिमाल र ताल लगायत समेटिएका रमणीय १०० तस्बिर राखिएका छन् । उचाईमा रहेको च्छोरोल्पा ताल, रोल्वालिङ, देउढुङगा, शैलुङ, कालिञ्चोकको मनोरम दृश्य पनि तस्बिरमा देखाइएको छ । प्रदर्शनीमा राखिएका फोटोहरुले दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरुलाई समेटेको छ ।

आजदेखि सुरु भई आइतबारसम्म चल्ने फोटो मेलाबाट दोलखाको पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक जानकारी लिन सकिने दोलखा मिडियाका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । दोलखा उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक हो भन्ने मेलामा राखिएको तस्बिरले देखाएपछि आगामी दिनमा दोलखामा पर्यटकको संख्यामा पनि वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

मेलामा सन् १९१० को दशकमा खिचिएको तस्बिर पनि राखिएको छ भने स्विस पत्रकारले दोलखालाई नियालिरहेको तस्बिर पनि प्रदर्शनीमा देख्न सकिन्छ । दोलखा काठमाण्डौंबाट नजिकको पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । नेपालको केन्द्रिय राजधानी काठमाडौँबाट दोलखा १३३ किमी दूरीमा पर्दछ ।