images
images

आफ्नै अभिव्यक्तिले विवादमा तानिए पछि पर्यटन मन्त्री किरातीको आग्रह–‘पुरै भनाई सुनिदिनुस्’

  • ५ पुष २०८०, बिहीबार १४:१६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिनुभएको छ ।

‘क्रिश्चियनलाई मान्दिन भन्नु संबिधान नमान्नु र संबिधान नमान्ने देशद्रोही हुन् । त्यस्तालाई हत्कडी लगाएर जेलमा हालिदिने हो’ भन्ने अभिव्यक्तिपछि मन्त्री किराती विवादमा तानिनु भएको हो । उहाँको अभिव्यक्तिलाई लिएर अहिले राजनीतिक बृत र सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यो विषयले संसदीय समितिको वैठकमा समेत प्रवेश पाएको छ । मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर संसदीय समितिमा समेत आलोचना भएको छ । अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले मन्त्री किरातीले द्धन्द्ध मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने बताउनुभयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ भनी प्रश्न गर्नुभएको छ । रास्वपा सभापति लामिछानेले मन्त्री किरातीले दिएको अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग समेत गर्नुभएको छ । उहाँले संस्कृति मन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको ध्यानाकर्षण पनि गराउनुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पनि मन्त्री किरातीको अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै तत्काल बरखास्त गर्न माग गर्नुभएको छ ।

आफ्नो अभिव्यक्तिलाई लिएर बिरोध हुन थालेपछि मन्त्री किरातीले आफ्नो भाषणलाई आंशिकरुपमा नसुनी पुरै सुनिदिन आग्रह गर्नुभएको छ । मन्त्री किरातीले आफ्नो भनाईलाई काँटछाँट गरिएको दाबी गर्दै भन्नुभएको छ –‘संबिधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौ, अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेरो जोड हो ।’ ‘भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ,’ मन्त्री किरातीले आफ्नो फेसबुक स्टाटसमा भन्नुभएको छ,–‘त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ ।’