images
images

जिरीका सहकारी संस्थाहरुको २६ बुँदे साझा प्रतिवद्धता, नगरपालिकास्तरीय सञ्जाल गठन

जिरी (दोलखा) । सहकारी ठगी र अनियमितताका घटना बढीरहेका बेला दोलखाको जिरी नगरपालिकाका सहकारी संचालकहरुले सहकारी क्षेत्रको सुशासन, पारदर्शीता र सम्भावित जोखिमवाट जोगिन २६ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।

दोलखा जिल्लामा पनि सहकारी चोरी र आर्थिक अपचलनका घटना घट्न थालेपछि जिरी नगरपालिकाले सहकारीका संचालक र व्यवस्थापकहरु वीच आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा २६ बुँदे लिखित प्रतिवद्धता गरिएको हो । हिजो आयोजित सहकारीहरुको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रिया पछि जारी प्रतिवद्धता पत्रमा सहकारीको नियमित साधारण सभा, लेखा परिक्षण र कानुनले तोके वमोजिम सम्वन्धित निकायमा नियमित विवरण बुझाउने, उद्धेस्य बिपरित सहकारी संस्थाहरु संचालन नगर्ने, गैर कार्यक्षेत्र र गैर सदस्यसँग आर्थिक कारोवार नगर्ने लगायतका प्रतिवद्धता व्यक्त गरिएको छ ।

जिरी नगरपालिकाका सहकारी संस्थाहरुले दोहोरो सदस्यता, गैर कार्यक्षेत्र र गैर सदस्य भएमा एक महिनाभित्र नियमित गर्ने, सहकारी संस्थाहरुले आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागु गर्ने, ऋण प्रवाह गर्दा पारदर्शीता, बस्तुनिष्ठ र औचित्य पुष्टि हुने गरी गर्ने, सहकारी संस्थाहरुको नगद सुरक्षकालागि भल्टको व्यवस्था गरी विमा गर्ने, निश्क्रिय एवँ समान उद्धेस्य भएका सहकारी एकिकरणमा जोड दिने लगायतका प्रतिवद्धता जाहेर गरेका छन् । प्रतिवद्धता पत्रमा जिरी नगरपालिकाका जनप्रतिनिधि तथा सहकारी संस्थाका संचालक र व्यवस्थापकहरुले हस्ताक्षर गरेका छन् ।

  • कार्यक्रममा दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का र जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद फुँयालले सहकारीमा रहेको नगदको सुरक्षाकालागि भल्टको व्यवस्था गरी विमा गर्नुका साथै तरलता र नगदको नोट विवरण अनिवार्यरुपमा राख्नु पर्ने भन्दै सेयर सदस्यको रकमको सुरक्षा हुन नसकी चोरी वा अनियमितता भएमा सहकारी संचालक र कर्मचारी जेल जान तयार हुनु पर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेलले सहकारी संस्थाहरुलाई निर्धारित उद्धेस्य अनुसार पारदर्शी ढँगले संचालन गर्न र अन्य क्षेत्रमा देखिएको सहकारीको बिकृतिवाट जोगिन आग्रह गर्नुभयो । यस्तै, जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले सहकारी संस्थाहरुले नियमित लेखा परिक्षण र साधारण सभासहित कानुनले तोकेका प्रक्रिया पुरा गरी स्थानीय सरकारलाई विवरण बुझाउनु पर्ने बताउनुभयो । कार्यक्रममा दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का र जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद फुँयालले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्नु पर्नेमा जोड दिँदै संस्थाभित्र आर्थिक पारदर्शीता र सुशासन अनिवार्य शर्त भएको बताउनुभयो । सहकारीमा रहेको नगदको सुरक्षाकालागि भल्टको व्यवस्था गरी विमा गर्नुका साथै तरलता र नगदको नोट विवरण अनिवार्यरुपमा राख्नु पर्ने भन्दै खड्का र फुँयालले सेयर सदस्यको रकमको सुरक्षा हुन नसकी चोरी वा अनियमितता भएमा सहकारी संचालक र कर्मचारी जेल जान तयार हुनु पर्ने धारणा राख्नुभयो ।

अधिकाँश संस्था निश्क्रिय

अन्तरक्रियामा जिरी नगरपालिका सहकारी शाखाका साविन्द्रा खड्काले प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाभित्र २० वटा उत्पादक सहकारी, १२ वटा वचत तथा ऋण र ३ वटा उपभोक्ता सहकारी दर्ता भएपनि अधिकाँश संस्थाहरु निश्क्रिय रहेको बताउनुभयो । उहाँका अनुसार जिरी नगरपालिका कार्यक्षेत्र रहेका ५ वटा प्रदेश स्तरीय सहकारी र जिरी नगरपालिका कार्यक्षेत्र भएका ८ वटा सहकारी सक्रियरुपमा संचालन भइरहेका छन् । जिरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष आङ पासाङ शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिरी नगरपालिकाका नगर उपप्रमुख कृष्णमाया बुढाथोकी खड्कासहितका जनप्रतिनिधिहरु तथा जिरी नगरपालिकामा रहेका सहकारी संस्थाका संचालक र व्यवस्थापकहरुको उपस्थिती थियो ।

नगरस्तरीय सहकारी सञ्जाल

अन्तरक्रियापछि आकाशद्धिप वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्रिवहादुर खड्काको संयोजकत्वमा जिरी नगरपालिकास्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । सञ्जालको सदस्यहरुमा खुशवहादुर कार्की, प्रेम कार्की, टपिन्द्र खड्का, रामवहादुर खड्का, भिमवहादुर जिरेल, कुशवहादुर तामाङ र पुष्पा जिरेल चयन भएका छन् । बाँकी २ सदस्य भने पछि चयन गरिने छ ।