images
images

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख २३ हजार पुग्यो

  • २२ फाल्गुन २०८०, मंगलवार ११:४१

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ ।

प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम हुदैँ सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । नेपाली बजारमा तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च रेकर्ड हो । तेजाबी सुनको मूल्य पनि आज तोलामा २ हजार रुपैयाँले बढ्दै १ लाख २२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसअघि गत पुस १२ गते सुनको मूल्य प्रतितोला १ लाख २२ हजार पुगेको थियो । त्यसयता गत आइतबार पनि एकैदिन प्रतितोला २ हजार रुपैयाँले बढ्दै छापावाला सुनको मूल्य १ लाख २१ हजार रुपैयाँ पुगेको थियो । हिजो सुनको मूल्य स्थिर रहेकोमा आज २ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च रेकर्ड बनेको हो । यस्तै, चाँदी हिजो प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ ।