images
images

माओवादी केन्द्रिय कमिटी: जनमत सर्वेक्षणमा अब्बल, प्रचण्डको लेन्सबाट टाढा !

  • १९ पुष २०७८, सोमबार ०३:०७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको २३७ जना केन्द्रीय कमिटी सदस्यको नाम बन्दसत्र हलबाट सर्वसम्मत पारित भएको छ। प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशन अन्तर्गत आइतवार बसेको स्थायी कमिटी बैठकपछि प्रचण्डले विभिन्न क्लस्टरसमेत समावेश गरेर २३७ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए।

प्रचण्डबाट प्रस्ताव भएका २३७ केन्द्रीय सदस्यको नाम ध्वनी मतले सर्वसम्मत पारित भएपछि अब यिनमा निर्वाचन हुने छैन। पारित भएका नामहरूमा सोमबार मनोनयन गरेर प्रक्रिया पूरा गरिनेछ। केन्द्रीय सदस्यमा मनोनयन दर्ता का लागि १ हजार शुल्क तोकिएको छ।

पार्टी हाँक्ने कमाण्डर अर्थात अध्यक्ष तथा पदाधिकारीको चयनबिना नै माओवादी महाधिवेशन सकिएको हो । देशभरबाट आएका प्रतिनिधले अध्यक्ष चुन्न पाएनन् । अध्यक्ष मात्र होइन, पार्टीको समग्र नेतृत्व चयन प्रक्रियामा नै उनीहरु भूमिकाविहिन बनेका छन् । एमालेको महाधिवेशनमा केपी ओलीले पढेको लिस्टलाई चुनौति दिँदै केही नेताले उम्मेदवारी दिएपछि चुनाव भएको थियो । तर, माओवादीमा त्यो पनि भएन ।

माओवादी केन्द्रीय सदस्यको सूची प्रचण्ड आफैंले बनाएकाले केन्द्रीय समितिमा उनको एकछत्र दवदवा रहने निश्चित नै छ । यसर्थ पदाधिकारी पनि उनले चाहेकै व्यक्ति चयन हुनेमा कुनै शंका छैन । जनतामा र कार्यकर्तामा भिजेका केहि नेता भने यसपाली पनि प्रचण्डको लेन्समा पर्न सकेनन । केन्द्रिय सदस्य छनोटमा अखिल (क्रान्तिकारी) र योङ्ग कम्युनिष्ट लिग नेपाललाई फरक फरक मापदण्ड बनेको छ । वाईसिएलबाट दीपशिखा, यसोदा न्यौपाने, सुबोध सेर्पाली केन्द्रिय सदस्य बन्दा नेकपा गठन हुँदा उपेक्षामा परेका रमेश मल्ल नै यसपाली केन्द्रिय सदस्य पर्न सकेनन ।

विद्यार्थी संगठनको नेतृत्व गरेर आएका मल्ल, रंजित तामाङ्ग, नरेन्द्र न्यौपाने यसपाली केन्द्रिय सदस्य बनिनेमा ढुक्क जस्तै थिए । पहिलो चरणको केन्द्रिय कमिटी छनोटमा भने उनीहरु प्रचण्डको लेन्समा पर्न सकेनन । माओवादी केन्द्रको जारी महाधिवेशनस्थल प्रज्ञा भवनको मूलद्वारको बायाँतर्फ लेखनाथ हलको बाहिरी भित्तामा ‘जनमत सर्वेक्षण’ नाम दिएको ब्यानर देख्न सकिन्छ ।

मिडिया एकेडेमी नेपालको ब्यानरमा राखिएको जनमत सर्वेक्षणमा माओवादीका १० लोकप्रिय नेताहरूको मत सर्वेक्षण देखाइएको छ । विश्वको जुनसुकै कुनाबाट फेसबुक, ट्विटर, मोबाइल एसएमएस र वेबसाइट www.matadan.com मार्फत मनपर्ने नेतालाई २४ सै घण्टा भोट गर्न सकिने व्यवस्था मिलाईएको थियो ।

सोमबार बिहान ८ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रका सबैभन्दा लोकप्रिय नेतामा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ रहेका छन् । सबैभन्दा बढी मतका साथ उनी पहिलो नम्बरमा छन् । उनले १७२२२ मत ल्याएका छन् ।

दोस्रोमा पूर्व अर्थमन्त्री एवं स्थायी कमिटी सदस्य वर्षमान पुनले १५२९१ मत पाएका छन् । तेस्रोमा पूर्व उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ १४५१४, चौथो प्रचण्डकी बुहारीसमेत रहेकी नेतृ बिना मगर छिन् । उनले १२८६३ मत पाएकी छन् । श्रेष्ठ, पुन र मगर भने केन्द्रिय सदस्य बनिसकेका छन् ।

पाचौंमा सुवोधराज शेर्पालीले ११४०७ मत पाएका छन् । योङ्ग कम्युनिष्ट लिग नेपालका सह-संयोजक शेर्पाली दलित युवाबाट केन्द्रिय सदस्यमा अटेका छन् भने वर्तमान अर्थमन्त्री जनार्दन शर्मा छैठौं नम्बरमा रहेका छन् । उनले ११०८० मत पाएका छन् । १० हजार ३२३ मतसहित पूर्वमन्त्री गणेशमान पुन सातौं नम्बरमा छन् । शर्मा र पुन पनि केन्द्रिय सदस्य बनिसकेका छन्।

आठौंमा रहेका तिलकराज भण्डारीले १०२५४ मत पाएका छन् । भण्डारीलाई अखिल (क्रान्तिकारी) को नेतृत्वमा दाबी छाड्न लगाएर प्रचण्डले केन्द्रिय सदस्य बनाउने आश्वासन दिएका थिए । नवौंमा पूर्वमन्त्री शक्ति बस्नेत छन् । उनले १०२२९ मत पाएका छन् । अन्तिम दशमा माओवादी संसदीय दलका उपनेता देव गुरुङ रहेका छन् । उनले १०११९ मत पाएका छन् । बस्नेत र गुरुङ्ग केन्द्रिय सदस्यमा कायम छन् भने भण्डारीले इन्ट्री गर्न पाएनन् ।

जनमत सर्वेक्षणको सोमबार बिहान ८ बजेको अपडेट:

१) रंजित तामाङ्ग – १७२२२
२) वर्षमान पुन अनन्त – १५२९१
३) नारायणकाजी श्रेष्ठ – १४५१४
४) बिना मगर – १२८६३
५) सुबोधराज शेर्पाली – ११४०७
६) जनार्दन शर्मा – ११०८०
७) गणेशमान पुन – १०३२३
८) तिलकराज भण्डारी – १०२५४
९) शक्ति बहादुर बस्नेत – १०२२९
१०) देव गुरुङ्ग – १०११९