images
images

दायित्ववाट पन्छिदै पिपुल्स इनर्जी, प्रभावित क्षेत्रकालागि पाउने साँढे २ करोड जिरी नगरले पाएन

जिरी (दोलखा) । दोलखा र रामेछापको सिमानामा बग्ने खिम्ति खोलामा ४८ दशमलव ८ मेगावाटको खिम्ति–२ जलबिधुत आयोजना निर्माण गरिरहेको पिपुल्स इनर्जी लिमिटेड सामाजिक उत्तरदायित्ववाट पन्छिने प्रयास गरेको छ ।

करिव ८ अर्व ६४ करोडको लागतमा निर्माण भइरहेको खिम्ति–२ को ७५ प्रतिशत काम पुरा भएपनि वातावरणीय प्रभाव न्यूनिकरण र सामाजिक विकासको उत्तरदायित्ववाट प्रवद्र्धक कम्पनी पन्छिदै आएको हो । पिपुल्स इनर्जीले वातावरणीय प्रभाव न्यूनिकरण र सामाजिक विकासकालागि स्थानीय सरकारसँग गरेको सम्झौतालाई लत्याएको छ भने नदीजन्य पदार्थको प्रयोग वापतको रोयल्टि भुक्तानीमा समेत आलटाल गरेको छ । विगतको सम्झौता कार्यान्वयन नगरे पछि पिपुल्स इनर्जी र सिभिल संरचना निर्माणको जिम्मा पाएको हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रा.ली. लाई स्थानीय सरकारले ताकेता गरेको छ ।

खिम्ति–२ को प्रवद्र्धक कम्पनी पिपुल्स इनर्जी लिमिटेडले आयोजनाको काम सुरु गर्ने क्रममा दोलखाको जिरी नगरपालिकासँग प्रभावित क्षेत्रको सामुदायिक विकासकालागि २ करोड ५० लाख रुपैयाँ उपलव्ध गराउने सम्झौता गरेको थियो । २०७६ साल असार २६ गते भएको सो सम्झौतामा जिरी नगरपालिकाका प्रथम नगर प्रमुख टंक बहादुर जिरेल, वडा नम्बर ८ का तत्कालिन वडाध्यक्ष तेजवहादुर खड्का र वडा नम्बर ९ का वडाध्यक्ष ज्ञानवहादुर सुनुवार तथा पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्ण आचार्य, संचालन देववहादुर पौडेल र आयोजना उपप्रमुख प्रदिप नेपालले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार गत वर्षको असार मसान्तसम्म जिरी नगरपालिकाले २ करोड ५० लाख रुपैयाँ पाउनु पर्ने थियो । सो रकम मध्ये जिरी नगरपालिका वडा नम्बर ८ र ९ मा आयोजनावाट प्रतक्ष्य प्रभावित क्षेत्रका बासिन्दा लाभान्वित हुने गरी १/१ करोड र नगरपालिकाको कार्यालयले ५० लाख रुपैयाँ सामाजिक विकासमा खर्च गर्ने सहमति थियो । तर, सम्झौताको साँढे चार वर्ष बितिसक्दा १५ लाख रुपैयाँ मात्रै जिरी नगरपालिकाको खातामा जम्मा भएको छ ।

सम्झौता अनुसार गत वर्षको असार मसान्तसम्म जिरी नगरपालिकाले २ करोड ५० लाख रुपैयाँ पाउनु पर्ने थियो । सो रकम मध्ये जिरी नगरपालिका वडा नम्बर ८ र ९ मा आयोजनावाट प्रतक्ष्य प्रभावित क्षेत्रका बासिन्दा लाभान्वित हुने गरी १/१ करोड र नगरपालिकाको कार्यालयले ५० लाख रुपैयाँ सामाजिक विकासमा खर्च गर्ने सहमति थियो । तर, सम्झौताको साँढे चार वर्ष बितिसक्दा १५ लाख रुपैयाँ मात्रै जिरी नगरपालिकाको खातामा जम्मा भएको छ । बाँकी २ करोड ३५ लाख रुपैयाँ भुक्तानीमा ढिलाई गरेपछि जिरी नगरपालिकाले गत असोज २५ गते बाँकी रकम भुक्तानीका लागि ताकेता सहितको पत्राचार गरेको छ । जिरी नगरपालिकाको गत पुसमा सम्पन्न १३ औं नगर सभाले पिपुल्स इनर्जीले निर्माण गरिरहेको खिम्ति–२ आयोजनावाट सम्झौता वमोजिम प्राप्त हुने सामुदायिक विकास योजना अन्तर्गत प्राप्त हुने आम्दानी बाँधी बजेटमा समावेश गर्ने निर्णय पनि गरेको थियो ।

जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले पिपुल्स इनर्जीले सम्झौता अनुसारको रकम भुक्तान नगरेपछि यथासक्य छिटो उपलव्ध गराउन पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले पिपुल्स इनर्जीवाट हालसम्म १५ लाख रुपैयाँ मात्रै पाएको छ । खिम्ति–२ आयोजनाका अधिकारीहरुले भने प्रत्यक्ष प्रभावित क्षेत्रका समुदायको आवश्यक्ता अनुसार आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनले तोके वमोजिमका क्षेत्रभित्र रहेर योजना छनौट गरी शिफारिस गर्न ढिलाई भएका कारण भुक्तानी पनि ढिलो हुन गएको प्रतिक्रिया दिएका छन् । यस बिषयमा जिज्ञासा राख्दा पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले सम्झौता अनुसारको रकम दिन तयार रहेको र प्राविधिक कारणले मात्रै ढिलाई हुन गएको बताउनुभयो ।

ताकेतापछि हाइ हिमालयले तिर्यो १९ लाख ८० हजार रोयल्टि

खिम्ति–२ आयोजनाको सिभिल संरचना निर्माणको काम गरिरहेको हाइ हिमालय हाइड्रो कम्पनीले जिरी नगरपालिकाको ताकेता पछि नदिजन्य पदार्थ प्रयोग गरे वापत तिर्नु पर्ने रोयल्टिको दोश्रो किस्ता वापतको रकम भुक्तानी गरेको छ । जिरी नगरपालिकाले रोयल्टि भुक्तानीकालागि पत्राचार गरेको करिव चार महिनापछि हाइ हिमालयले दोश्रो किस्ता वापतको १९ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको हो । माघ १५ गते हाइ हिमालयवाट सो रकम जम्मा भएको नगरपालिकाको लेखा शाखाले जनाएको छ । यसअघि पहिलो किस्ता वापत नगरपालिकाले १९ लाख ८० हजार रुपैयाँ पाएको थियो ।

४८ दशमल ८ मेगावाटको खिम्ति–२ आयोजनाको सिभिल संरचना निर्माणका निकै ठूलो परिमाणमा गिट्टी, बालुवा, ढुँगा लगायतका नदीजन्य पदार्थको प्रयोग हुने भएपनि २०७८ साल कार्तिक १५ गते आयोजना निर्माण अवधिभरका लागि ६० लाख मात्रै रोयल्टि रकम निर्धारण गरेर सम्झौता भएको थियो । सम्झौता पत्रमा जिरी नगरपालिकाका प्रथम नगर प्रमुख टंक बहादुर जिरेल, पिपुल्स इनर्जीका संचालक अर्जुनकुमार कार्की र हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक तारानाथ सापकोटाले हस्ताक्षर गरेका थिए । सम्झौतामा तोकिएको रोयल्टि रकम हाइ हिमालयले पहिलो किस्ता सम्झौता भएको मितिले ३० दिनभित्र, दोश्रो किस्ता ५० प्रतिशत काम सम्पन्न भएपछि र तेश्रो किस्ता ९५ प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गर्ने उल्लेख छ ।

खिम्ति–२ आयोजना निर्माणका क्रममा खिम्ति खोलाको दोलखा र रामेछापतर्फको दुवै भागमा जथाभावी उत्खनन गरिएको छ । जथाभावी उत्खनन गरेर नदीजन्य पदार्थ निकाल्दा वातावरणीय संकट निम्तिने खतरा बढेको छ । यस्तै, आयोजनाको सुरुङ मार्ग निर्माणका क्रममा कतिपय स्थानमा खानेपानी र सिंचाईका मुहान सुकेको, केही व्यक्तिको घर र जग्गा काम नलाग्ने गरी चर्किएको लगायतका गुनासो स्थानीय सरकारमा आउने गरेका छन् ।