images
images

संघीय सरकारमा कांग्रेसवाट थपिए तीन मन्त्री, कानुनमा धनराज, स्वास्थ्यमा मोहन

  • २० बैशाख २०८०, बुधबार १७:११

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराउनुभएको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गर्नुभएको हो ।

तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक गत वैशाख ३ गते आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । आठौँ पटकको विस्तारमा कांग्रेस सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसअघि चैत १७ गते कांग्रेसका तर्फबाट चारजनालाई मन्त्री नियुक्त गर्नुभएको थियो ।