images
images

दोलखामा सर्वाधिक राशिको सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता सुरु

  • २१ फाल्गुन २०८०, सोमबार १६:४६

दोलखा । दोलखामा प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता–२०८० सुरु भएको छ ।

सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको पूर्ब राज्यमन्त्री देवी खड्काले एक समारोहका बीच उद्घाटन गर्नुभयो । महान सहिद रितवहादुर खड्काको स्मृतिमा आयोजित प्रतियोगिता फागुन २५ गतेसम्म चल्नेछ । दोलखा युवा सञ्जालको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत अहिले दोलखाको तामाकोशी गाउँपालिका र रामेछापको मन्थली नगरपालिकाबीच प्रतिष्पर्धा भएको छ । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ ।

खेलमा प्रथम हुनेले २ लाख ५१ हजार, द्धितीय हुनेले १ लाख ५१ हजार, र तृतीय टिमले ५१ हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, सान्त्वना हुने टिमले २१ हजार र प्रमाणपत्र प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडीहरुलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिने युवा सञ्जाल दोलखाले जनाएको छ । प्रतियोगिता दोलखा जिल्लाको भलिबल इतिहामै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता हो ।

युवा सञ्जाल दोलखाका अध्यक्ष पुस्कर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्ब राज्यमन्त्री खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका नेता नरबहादुर पाख्रिन, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको हो ।

भलिबल प्रतियोगिताको उद्धघाटन सत्रमा बागमती प्रदेशका पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता विशाल खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी लगायत स्थानीय स्तरका जनप्रतिनिधि एवं सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।