images
images

सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाको कब्जामा

  • २५ फाल्गुन २०८०, शुक्रबार १५:२३

दोलखा । दोलखामा सम्पन्न बागमती प्रदेशस्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ ।

सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा आज भएको फाइनल खेलमा दोलखाको जिरी नगरपालिकालाई पराजित गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले उपाधी आफ्नो पोल्टामा पारेको हो । उपाधी पाएसँगै मेलम्चीले २ लाख ५१ हजार नगद शिल्ड मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो स्थान ओगटेको जिरीले १ लाख ५१ हजार, शिल्ड मेडल र प्रमाणपत्र पाएको छ । आज बिहान रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिकाबीच भएको खेलमा कमलामाई नगरपालिकाले तेस्रो स्थान हात पारेको छ । कमलामाई नगरपालिकाले ३÷१ को सेटमा मन्थली नगरपालिकालाई पराजित गरेको हो ।

तृतीय भएसँगै कमलामाई नगरपालिकाले ५१ हजार र सान्त्वना भएको रामेछापको मन्थली नगरपालिकाले २१ हजार शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिता दोलखा जिल्लाको भलिबल इतिहासमै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता फागुन २१ गतेबाट सुरु भएको थियो । दोलखा युवा सञ्जालको आयोजनामा भएको खेलमा बागमती प्रदेशभित्रका १४ वटा टिमले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा कमलामाई नगरपालिकाका हरी बहादुर चौवान बेस्ट ब्लकर, मेलम्ची नगरपालिकाका कृष्ण तामाङ बेस्ट सेटर, जिरी नगरपालिकाका सम्पूर्ण काफ्ले बेस्ट स्पाइकर, जिरी नगरपालिकाका निश्चल कार्की बेस्ट डिफेन्डर, मेलम्ची नगरपालिकाका रोशन तामाङ बेस्ट प्लेयर,  मेलम्चीका देवेन्द्र श्रेष्ठ बेस्ट व्यवस्थापक र मेलम्चीका नारायण गिरी बेस्ट कोच घोषित भएका थिए ।

दोलखा युवा सञ्जालका अध्यक्ष पुस्कर अधिकारीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा जिल्ला समन्वय समिति दोलखा प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी र खेलकुद कार्यक्रमका संयोजक नवराज अर्याल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।