images
images

दोलखामा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा मेलम्ची र जिरी नगरपालिका फाइनल प्रवेश

  • २४ फाल्गुन २०८०, बिहीबार १९:००

दोलखा । दोलखाको प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगितामा दुई टिम फाइनलमा प्रवेश गरेका छन् ।

सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा फागुन २१ गतेबाट सुरु भएको भलिबल प्रतियोगितामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र दोलखाको जिरी नगरपालिका फाइन प्रवेश गरेका हुन्। क्वार्टर फाइनलमा आज रामेछापको मन्थली नगरपालिका र ललितपुरको बागमती गाउँपालिका, दोलखाको विगु गाउँपालिका र जिरी नगरपालिका, रामेछापको लिखु तामाकोशी गाउँपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र दोलखाको गौरीशंकर गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । अन्य टिमलाई पराजित गर्दै मेलम्ची नगरपालिका र जिरी नगरपालिका फाइनल प्रवेश गरेका हुन् । विजेता र उपविजेताका लागि मेलम्ची नगरपालिका र जिरी नगरपालिकाबिच भोलि बिहान ११ बजेबाट खेल सुरु हुनेछ ।

यस्तै, तृतीय र सान्त्वनाको लागि कमलामाई नगरपालिका र मन्थली नगरपालिकाबिच भोलि बिहान ८ बजे खेल सुरु हुने युवा सञ्जाल दोलखाका अध्यक्ष पुस्करकुमार अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो । खेलमा प्रथम हुनेले २ लाख ५१ हजार, द्धितीय हुनेले १ लाख ५१ हजार, तृतीय हुने टिमले ५१ हजार र सान्त्वना हुने टिमले २१ हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडीहरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिने युवा सञ्जाल दोलखाले जनाएको छ । यो प्रतियोगिता दोलखा जिल्लाको भलिबल इतिहासमै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता हो ।