images
images

छुट जग्गा दर्ताका लागि दोलखा मालपोत कार्यालयद्धारा सूचना जारी, प्रमाण भएकाले आवेदन दिन सक्ने

  • २२ माघ २०८०, सोमबार १४:४४

दोलखा । सरकारले छुट जग्गा दर्ताका लागि आवेदन खुलाउने निर्णय गरेसँगै मालपोत कार्यालय दोलखाले छुट जग्गा दर्ताको लागि निवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

मन्त्रीपरिषद वैठकले यसअघि भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको दर्ताकालागि सम्वन्धित व्यक्तिले आवेदन दिन पाउने निर्णय गरेपछि जिल्ला मालपोत कार्यालय दोलखाले पनि सार्वजनिक सूचना जारी गरेको हो । मालपोत कार्यालयले सूचना जारी गरी नेपाल राजपत्रमा जग्गा दर्ता सम्बन्धमा २ वर्षको अवधि तोकि सूचना प्रकाशन भएकाले आवश्यक कागजात सहित प्रमाण पेश गर्न भनेको हो । कार्यालयले आवश्यक प्रमाण पुगेकाहरुको हकमा तोकिएको समयावधि भित्र सिफारिस सहित निवेदन पेश गर्नका लागि आग्रह गरेको छ ।

मालपोत कार्यालयले साविक लगत, तिरोको निस्सा, नापि कार्यालयबाट हालसालै प्रमाणित भएको नक्सा र फिल्डबुक उतार, सम्बन्धित गाउँपालिका÷नगरपालिकाको दर्ताको लागि किटानी सिफारिस पेश गर्न भनेको छ । यस्तै, सम्बन्धित वडा कार्यालयबाट चार किल्ला प्रमाणित, सम्बन्धित वडा कार्यालयको दर्ताका लागि किटानि सिफारिस, सर्जमिन मुचुल्का सहित सम्बन्धित वडा कार्यालयको जोतभोगको सिफारिस, मालपोत नियमावली २०३६ बमोजिम आवश्यक अन्य कागजातहरु पेश गर्नुपर्ने प्रमुख मालपोत अधिकृत हिमालय बरालले जानकारी दिनुभयो ।

जग्गाको नाप नक्सा भएको तर दर्ता गर्न छुट भएका सम्वन्धित जग्गाधनीहरुले मालपोत कार्यालयले सूचना जारी गरेको २ वर्षभित्र आवेदन दिन सक्ने छन् । २०२२ सालअघि आफ्नो हकभोग रहेको र जोताहाको निस्सा भएका जग्गाधानीहरुले मात्रै जग्गा दर्ता छुट भएको औचित्य पुष्टि गरी निवेदन दिन सक्ने छन् । सरकारले करिव एक दशकपछि छुज जग्गा दर्ता खुला गरेको हो ।