images
images

जिरी उद्योग वाणिज्य संघको मनोनयन दर्ता, अध्यक्षमा शेर्पा र श्रेष्ठको उम्मेदवारी

  • २१ फाल्गुन २०७९, आईतवार १८:४०

जिरी (दोलखा) । जिरी उद्योग वाणिज्य संघको फागुन ३० गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ ।

जिरी उद्योग वाणिज्य संघले पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागेपछि आज उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो । जसमा अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । हाल अध्यक्ष पदको जिम्मेवारीमा रहेका गेल्बु शेर्पा र उपाध्यक्षका जिम्मेवारीमा रहेका बाबुराजा श्रेष्ठबीच अध्यक्ष पदको लागि प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुई जनाले अध्यक्ष पदको लागि मनोनयन दर्ता गराएका हुन् । यसैगरी प्रथम उपाध्यक्षमा २ जना र द्धितीय उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । प्रथम उपाध्यक्षमा आङ गेल्जी शेर्पा र देव बहादुर श्रेष्ठ, तथा द्धितीय उपाध्यक्षमा शिवस कुमार बस्नेत र रमेश बस्नेत उम्मेदवार बनेका छन् । महासचिवमा दलबहादुर श्रेष्ठ र अनिल कार्की, सचिवमा दिपक कार्की र सुमन शाही (खङ्गी), कोषाध्यक्षमा इन्द्र बहादुर कार्की र सुरज खड्काको उम्मेदवारी परेको छ । ४ सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

पेमा तुण्ड शेर्पा, यम बहादुर खत्री, उद्धव जिरेल, दिपेन्द्र खड्का, गया कुमार श्रेष्ठ र रामकृष्ण सैजु श्रेष्ठले सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनबाट एक अध्यक्ष, प्रथम उपाध्यक्ष र द्धितीय उपाध्यक्ष गरी दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा ४ जना सदस्य निर्वाचित हुनेछन् ।

कुल अध्यक्ष सहित १० जन निर्वाचित हुने भएपनि १८ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा १ सय ९५ जना मतदाताले मतदान गर्नेछन् ।