images
images

कोशीमा प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनमा मृत्यु भएका लिम्बूको परिवारलाई ५ लाख दिने निर्णय

  • २३ फाल्गुन २०८०, बुधबार १७:४३

विराटनगर । कोशीमा प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई ५ लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले लिम्बूको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । प्रदेशको अघिल्लो सरकारले राहत दिने निर्णय गरेपनि निकासा गरेको नदेखिएकाले आन्दोलनरत पक्षसँगकै सहमतिपछि परिवारलाई सरकारले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता एव्म आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिनुभयो ।

२०७९ साल फागुन १७ गते प्रदेशसभाको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा उत्रिएका थिए । सोही दिनदेखि नै सुरु भएको आन्दोलनमा गत चैत ५ गते घाइते भएका लिम्बूको उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो । मृत्यु लगत्तै तत्कालिन प्रदेश सरकारले चैत १२ गते लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । तर, परिवारले सो रकम प्राप्त गरेका थिएनन् । यस्तै, बैठकले पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको खर्च व्यहोर्ने प्रक्रिया पनि सुरु गर्ने निर्णय गरेको छ ।