images
images

बालबालिकालाई मोवाईलको लतबाट कसरी छुटाउने ?

  • २३ बैशाख २०८०, शनिबार १४:५२

काठमाडौँ । प्रविधिको विकास र विस्तारसँगै मोबाइलमा बालबालिकाको पहुँच बढेको छ । अहिले अधिकांश बालबालिकाले मोबाइलमा विभिन्न किसिमका भिडियो गेम खेल्ने गर्छन् । गेमप्रति उनीहरुको लत नै लागेको छ । यति मात्रै होइन, कतिपय बालबालिकाले खेलकै लागि आपराधिक क्रियाकलाप समेत गर्ने गरेको भेटिएको छ । यस्तो अवस्थामा उनीहरुलाई कसरी यसबाट टाढा राख्ने भन्ने विषयमा अभिभावकले सोच्न जरुरी छ । लामो समयसम्म बालबालिका मोबाइलमा घोत्लिँदा उनीहरुलाई हानी गर्ने त छँदैछ, अभिभावकलाई समेत तनाव हुन्छ ।

मानसिक रुपमा समेत कमजोर

लामो समयसम्म भिडियो गेम खेल्दा खेलमा देखेका क्यारेक्टरले बालबालिकाको मन मस्तिष्कमा गहिरो छाप छाड्छन् । जसलाई उनीहरुले आफुसँग तुलना गर्छन् । यसरी बालबालिकामा स्क्रिनको लत बस्दै जान्छ । भिडियो गेमले बारम्बार हिंस्रक विषयवस्तु प्रदर्शन गरेर बालबलिकाको नाजुक मनमस्तिष्कमा नकारात्मक प्रभाव पार्छ । लामो समय भिडियो गेम खेल्ने क्रममा बन्दुक चलाउँदा, अरुलाई मार्दा र आक्रमण गर्दा बालबालिकामा आक्रामक भावना पैदा हुन्छ भने उनीहरुको मनबाट भावना कमजोर हुँदै जान्छ । यसरी बालबालिका लामो समयसम्म भिडियो गेममा घोत्लिँदा उनीहरुको खाने सुत्ने समय पनि तलमाथि हुन्छ । जसकारण उनीहरु शारिरिक रुपमा मात्रै नभई मानसिक रुपमा समेत कमजोर हुन्छन् । त्यसैले बालबालिकाको यस्तो गतिविधिमाथि अभिभावकले बेलामै ध्यान पु¥याउन जरुरी छ ।

अभिभावकको भूमिका

बालबालिकालाई मोबाइल तथा भिडियो गेमको लतबाट छुटकारा दिलाउन अभिभावक कठोर बनेर मात्रै हुँदैन । अहिले सञ्चार प्रविधिको युग हो । जहाँ पढाइ लेखाइ समेत मोबाइलबाट नै हुने गर्छ । कुनै पनि कुराको लत बस्न उमेर चाहिँदैन । आफ्ना बालबालिकाले के कस्तो गरिरहेका छन् ? उनीहरुका क्रियाकलाप सही वा छैनन् भन्ने कुरा थाहा नपाएर समस्या झन् बढ्दै गएको छ । यति मात्रै होइन अभिभावक साक्षर नहुँदा र प्रविधिको दुरुपयोग भएमा यसले गर्न सक्ने असर आँकलन गर्न नसक्दा बालबालिका मोबाइल र भिडियो गेममा झुम्मिरहेका छन् ।

साथीको व्यवहार

बालबालिकालाई हिंस्रक भिडियो गेमबाट छुट्कारा दिलाउन साथीको व्यवहार गरी उनीहरुलाई घरमा एक्लो हुनबाट बचाउनुपर्छ । एक्लोपनका कारण धेरै बालबालिका भिडियो गेमको शिकार भइरहेका छन् । उनीहरुलाई मोबाइलमा कम भन्दा कम समय विताउन सम्झाउनुपर्छ । सकेसम्म बालबालिकाको बानी सुधारका लागि मोबाइल चलाउनेबारे नियम बनाउनुपर्छ । जसमा बालबालिकालाई पनि सहभागी गराउनुपर्छ । बालबालिकालाई सहभागी गराउँदा उनीहरुमा जिम्मेवारीको भाव पैदा हुन्छ । कुनै चीज लामो समयसम्म प्रयोग गर्दै गएपछि लत बस्छ । तर लत बस्दा बालबालिकामा केही परिवर्तन देखिन थाल्छ । जस्तै बालबालिकाको सुत्ने समय, खाने खेल्ने समय र सामान्य भन्दा फरक दैनिकी हुन्छ । यस्तो बेला उनीहरुलाई नम्र व्यवहारमा त्यसले गर्ने असर प्रभावबारे बुझाउन सक्नुपर्छ ।