
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ ।
नेपाल र भारतका सुरक्षा अधिकारीबीच हिजो भैरहवामा भएको वैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द (सिल) गर्ने निर्णय गरेको हो । विगतका आम निर्वाचनमा जस्तै यो पटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो । बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैरकानुनी कार्यहरू नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, जाली नोट नियन्त्रण लगायतका साझा सवालहरुका विषयमा निर्णय गरेको छ ।