images
images

चरिकोट बसपार्क पार्किङमा परिणत, सातदोबाटो क्षेत्रमा ट्राफिक जाम

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित बसपार्क उपयोगविहीन बन्दै गएको छ ।

चरिकोट बसपार्क गाडी पार्किङमा परिणत भएपछि डिभिजन सडक कार्यालय आसपासको क्षेत्र बसपार्कमा परिणत हुँदै गएको छ । डिभिजन सडक आसपासको क्षेत्रमा दिनभर सवारीका साधनका कारण अस्तव्यस्त हुने गरेको छ । चरिकोटमा व्यवस्थित बसपार्क नहुँदा सातदोबाटो चोक र डिभिजन सडक कार्यालय आसपासको क्षेत्रमा ट्राफिक जाम बढ्दो छ । सोही कारण सर्वसाधारण नागरिकलाई आवतजावतमा समस्या भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ । भएको बसपार्क उपयोगविहीन बन्नु र जथाभावी पार्किङले सडक अस्तव्यस्त भएपनि सम्बन्धित निकाय मौन र बेखबर बन्नु निकै बिडम्बना भएको सर्वसाधारणको गुनासो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी सहायक निरिक्षक (असई) बिष्णुराज पुरीले बसपार्कको अभावका कारण सवारी साधन व्यवस्थापनमा कठिन हुने गरेको बताउनुभयो । जथाभावी सवारी साधन पार्किङ हुने गरेकाले यात्रुहरुलाई आवत जावतमा समस्या हुने गरेको र दुर्घटनाको जोखिम समेत बढेको उहाँको भनाई छ । विशेषगरी गाउँबाट काठमाडौंका लागि छुटेका सवारी साधन चरिकोट आईपुग्ने समय र राजधानीबाट गाउँतर्फ जाने सवारी साधन चरिकोटबाट छुट्ने समयमा बढि भिडभाड हुने गर्दा सडक अस्तव्यस्त बन्ने गरेको छ ।

तामाकोशी गाउँपालिका ४ का लिलाबहादुर बुढाथोकीले सडक डिभिजन कार्यालय आसपासको स्थान बसपार्कको रुपमा परिणत हुँदा प्रदुर्षण बढ्नुका साथै दुर्घटनाको जोखिम समेत बढेकाले सम्बन्धित निकायले बेलैमा सोच्नु पर्ने बताउनुभयो । स्थानीय नविन शिवाकोटीले बसपार्क व्यवस्थित नहुँदा सदरमुकाम चरिकोट नै अस्तव्यस्त जस्तो देखिएको गुनासो गर्नुभयो । अरनिको यातायात चरिकोट काउन्टरका कर्मचारी कृष्ण थपलियाले चरिकोटमा व्यवस्थित बसपार्क नहुँदा यात्रुहरु कुन स्थानबाट चढ्ने र ओर्लने भन्ने बिषयमा अलमलमा पर्ने गरेको बताउनुभयो ।

भीमेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिशिर पौडेलले भीमेश्वर नगरपालिकाले व्यवस्थित बसपार्क बनाउने तयारीमा जुटेको र प्राबिधिकसँग छलफल भैरहेकोे बताउनुभयो । डिभिजन सडक कार्यालयको छेउ रहेको जग्गा प्रयोग गरी खोल्सामा ह्युम पाईप राखेर बसपार्क बनाउने बिषयमा थप अध्ययन र छलफल भैरहेको उहाँको भनाई छ ।