images
images

स्थानीयको माग सम्बोधन गर्न माथिल्लो तामाकोशी सकारात्मक, लामावगरको अवरोध हट्यो

  • २५ चैत्र २०७९, शनिबार १८:२८

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएसँगै आयोजनाको बाँधस्थल जाने बाटो खुलेको छ ।

लामावगरको साइड अफिसमा आज स्थानीय र आयोजनाबीच भएको छलफलमा आयोजनाले एकसाताभित्र माग सम्बोधन गर्ने सहमति जनाएसँगै १२ दिनदेखि अवरुद्ध भएको आयोजनाको बाँधस्थल जाने बाटो खुलेको हो । स्थानीय र आयोजनाबीच जग्गाको क्षतिपुर्ति तत्काल उपलब्ध गराउने, जग्गा फुकुवा गर्ने, तथा लामावगर स्वास्थ्य चौकीलाई भवन उपलब्ध गराउने लगायतका विषयमा सहमति भएको छ । सो सहमतिसँगै स्थानीयले अवरोध खुलाएका हुन् । मुआब्जाको विषयलाई लिएर स्थानीयले आयोजनाको बाँधस्थल जाने बाटो चैत १४ गतेदेखि अवरुद्ध गर्दा आयोजनाको काम प्रभावित भएको थियो ।

आयोजनाले जग्गा भोगचलन गरेपनि अहिलेसम्म अधिग्रहण नगरेको, अधिग्रहण गरेर पनि मुआव्जा नदिएको तथा एकातिर अधिग्रहण गरेर अर्कोतिर जग्गा प्रयोग गरेको लगायतका विषयलाई लिएर स्थानीयले आयोजनाको बाँधस्थल जाने बाटो बन्द गरेका थिए । विगु गाउँपालालिका १ लामावगरका स्थानीयले १२ दिनसम्म लामावगरको माथिल्लो गाउँबाट गौरीशंकर प्राविदेखि माथि ड्यामभन्दा तल र साल्दुङ टोलदेखि ड्यामसम्म आयोजनाका कुनै पनि सवारीका साधन र कर्मचारीलाई छिर्न दिएका थिएनन् । विगु गाउँपालिका वडा नम्बर १ लामावगरका स्थानीय सोनाम शेर्पाले तामाकोशी आयोजना आफुहरुको माग सम्बोधन गर्न सकारात्मक भएपछि अवरुद्ध बाटो सुचारु गर्न दिइएको बताउनुभयो । तर तोकिएको समयमा आफुहरुको माग पुरा नगरे पुनः आन्दोलनमा उत्रने उहाँले चेतावनी दिनुभयो ।

यस्तै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रशासन प्रमुख मित्रमणि पोखरेलले स्थानीयको माग जतिसक्दो चाँडो पुरा गर्ने सहमति भएपछि अवरुद्ध बाटो खुलेको जानकारी दिनुभयो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्माणको चरणदेखि स्थानीयको जग्गा प्रयोग गरेपनि मुआब्जा नदिएको विषयमा स्थानीय र आयोजनाबीच लामो समयदेखि विवाद जारी छ ।