images
images

भागबण्डामा कुनै सिट नपाएपछि छुट्टै उम्मेदवारी दिने ‘नेकपा एस’ दोलखाको तयारी

  • २२ आश्विन २०७९, शनिबार २०:४६

दोलखा । मंसिर ४ गते हुने आमनिर्वाचनमा दोलखाको प्रतिनिधिसभा र प्रदेशसभाको कुनै पनि सिट भागबण्डामा नपरेपछि नेकपा एकिकृत समाजवादीले छुट्टै उम्मेदवारी दर्ता गरेर जाने तयारी गरेको छ ।

मनोनयन दर्ताको अघिल्लो दिन सदरमुकाम चरिकोटमा बसेको नेकपा एकिकृत समाजवादीको बैठकले आफ्नो भागमा संघ र प्रदेशको कुनै पनि सिट नपरे दुवै प्रदेश र संघमा छुट्टै उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रले उम्मेदवारी दर्ताकालागि टिकट नदिए स्वतन्त्र हैसियतमा भएपनि उम्मेदवारी दर्ता गर्नु पर्नेमा नेताहरुले जोड दिएका छन् । नेकपा एसले आसन्न निर्वाचनका बारेमा सत्तारुढ गठबन्धनका दलहरु र एमालेसँग समेत जिल्ला तहमा छलफल गरी आवस्यक सहकार्य गरेर अघि बढ्ने बताएको छ ।

नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भिमप्रसाद दाहालले सत्तारुढ गठबन्धनका दलहरुको अन्तिम निर्णय कुर्ने र अन्यायपूर्ण निर्णय भए दलिय हैसियत वा स्वतन्त्र हैसियतमा भएपनि उम्मेदवार दर्ता गरेर अघि बढ्ने बिषयमा बैठकमा छलफल भएको बताउनुभयो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतको सत्तारुढ गठबन्धनमा नेकपा एसले दोलखाको प्रतिनिधि सभा वा प्रदेशसभा मध्ये एक सिट दावी गरेको थियो । नेकपा एसका पोलिट्व्यूरो सदस्य शिवप्रसाद भण्डारीले जिल्लाको तीन सिट मध्ये एक सिट पनि आफ्नो पार्टीको भागबण्डामा नपरे छुट्टै उम्मेदवारी दर्ताको विकल्प नरहेको प्रतिक्रिया दिनुभयो । पार्टीले टिकट दिएमा दलीय हैसियतमा र नदिए स्वतन्त्र हैसियतमा भएपनि तीनै सिटमा उम्मेदवारी दर्ता हुने र त्यसपछि सवै दलसंग छलफल गरेर निश्कर्षमा पुग्ने उहाँको भनाई छ ।

नेकपा एसले छुट्टै उम्मेदवारी दिने बताएपनि प्रतिनिधिसभा र प्रदेशसभामा को उम्मेदवार बन्ने भन्ने सार्वजनिक गरेको छैन ।