images
images

मौद्रिक नीति समिक्षाः शेयर धितो र घरजग्गा कर्जाको जोखिमभार घट्यो

  • २२ मंसिर २०८०, शुक्रबार ११:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समिक्षा सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८० को मौद्रिक नीतिको प्रथम समिक्षा आज सार्वजनिक भएको हो । शेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएर राष्ट्र बैंकले मौद्रिक नीति समिक्षा सार्वजनिक गरेको छ । ५० लाख भन्दा बढी शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभार १५० प्रतिशत थियो । ५० लाख मुनिको शेयर धितो कर्जाको जोखिमभार सय प्रतिशत कायम गरिएको छ । मौद्रिक नीतिले शेयर धितो कर्जामा जोखिम भार घटाएर शेयर बजारलाई चलायमान बनाउने लक्ष्य लिएको छ । यस्तै ५० लाख भन्दा बढीको घरजग्गा कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो ।

यसैगरी आर्थिक शिथिलताका कारण समस्यामा परेका ऋणीलाई राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ । परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुर्नसंरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गर्ने मौद्रिक नीति समिक्षामा उल्लेख छ ।

यस्तै, कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प जाँदा क्षतिग्रस्त भएका आवासीय घर पूननिर्माणका लागि सस्तो व्याजमा ऋण दिइने भएको छ । भूकम्प प्रभावित परिवारलाई २५ लाख रुपैँयासम्मको आवासीय घर कर्जा उपलब्ध गराउने गरी राष्ट्र बैंकले आर्थिक प्याकेज ल्याएको छ ।