images
images

थामी जातिको ऐतिहासिक उद्गमस्थल राङराङथली पर्यटकीय गन्तव्य बन्दै

  • २४ भाद्र २०७९, शुक्रबार ०९:३२

दोलखा । थामी समुदायको किपट क्षेत्र मानिने राङराङथली पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर १ स्थित सुष्पा क्षमावतीमा पर्ने राङराङथली पछिल्लो समय पयर्टकीय गन्तव्य बन्दै गएको हो । सिमान्तकृत थामी जातिको उद्गमस्थल मानिने राङराङथली नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । राङराङथलीमा पर्यटकहरु प्रकृतिसँग रमाउन पुग्ने गरेका छन् । रमणिय दृश्याअवलोकनका लागि आकर्षक गन्तव्य राङराङमा पर्यटकहरु सदावहार जाने गरेका छन् । विशेषगरी वर्षायामको हरियाली वातारणमा रमाउन तथा सिन क्यामेरामा कैद गर्न पर्यटकहरु राङराङथली पुग्ने गरेका छन् । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण राङराङथलीमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गर्दछ । विशेष गरी शुक्रबार, शनिवारको समयमा सो स्थानमा पर्यटकको भिड लाग्ने गरेको छ ।

थामी जातिको दुई पूर्खा सिम्रौनगढबाट दोलखा आएको किंवदन्ती

सो स्थानमा निर्माणाधिन राष्ट्रिय थामी संग्रहालयले पनि राङराङथलीमा आगामी दिनमा अझ जातिय गन्तव्यको रोजाईमा पर्न सफल हुने अनुमान गरिएको छ । थामी जातिको सुरुको पुस्ताका मानिने यापती तथा सोनारीले बसोबास गरेको स्थल राङराङथली भीमेश्वर नगरपालिकाको अर्को रोजाईको गन्तव्य हो । थामी जातिको दुई पूर्खा सुनारी र यापति सिम्रौनगढबाट दोल्तीखोला हुँदै दोलखा आएको र राङराङथलीको जङगलको बिचमा पातीको एउटा झुपडी बनाएर बसोवास गरेको किंवदन्ती रहिआएको छ । राङराङथलीमा निर्माण गरिएको राष्ट्रिय थामी संग्रहालयमा थामी जातिका पहिलो पुस्ता यापती, सोनारीले अल्लो धुने गरेको मानिने मनमोहक तिलक पोखरी रहेको यापती सुनारी संरक्षण तथा सम्बर्धन समाज नेपालका अध्यक्ष भानुदास थामीले बताउनुभयो । संग्रहालयमा थामी जातिको परम्परा र संस्कृति झल्काउने प्रतिमुर्तिहरु निर्माणाधिन रहेका छन् । सो स्थानमा अहिले पनि ८० प्रतिशत थामी जातिकै बसोबास रहेको छ ।

नेपालकै पहिलो थामी संग्रहालय निर्माणाधीन अवस्थामा

सो स्थानमा ठुलो तिलकपोखरी, मन्दिर, हरियाली रमाइला वनजङगल, एउटा चुलो, पानी खानको लागि सधैँ पानी उम्रने एउटा नागथान पनि रहेकाले पर्यटकहरु राङराङथली पुग्ने गरेका छन् । सङग्रहालयमा टाढा टाढाका पर्यटकहरु घुम्न आउने गरेका छन् । थामी जातिको एकमात्र ऐतिहासिक उदगम स्थल राङराङथलीमा २०६९ सालबाट भौतिक पूर्वाधार निर्माण सुरु गरिएको थियो । सो स्थानमा नेपालकै पहिलो थामी संग्रहालय निर्माणाधीन अवस्थामा रहेको छ । २५ रोपनी क्षेत्रफलमा निर्माणाधिन संग्रहालयको ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । संग्रहालयमा अत्याधुनिक थिएटर हल, भुमेस्थान, ध्यान केन्द्र ओपेरा स्थल, पहुना घर, बाल बगैचा, फाउन्टेन पार्क लगायत संरचना बन्ने छ । डिपिआर तयार भैसकेको थामी संग्रहालयको निर्माण कार्य सम्पन्न हुन करिब २० करोड लाग्ने अनुमान गरिएको छ । रासंग्रहालय निर्माणका लागि भीमेश्वर नगरपालिकाले ४ करोड ६७ लाख बजेट छुट्टयाएको थियो । त्यसमध्ये ६५ प्रतिशत रकम खर्च भैसकेको भीमेश्वर नगरपालिकाका ईन्जिनियर सुरेस राउतले जानकारी दिनुभयो ।

चरिकोट बजारबाट २ घण्टाको पैदलपछि पुग्न सकिने

उहाँका अनुसार नगरपालिकाले एउटै योजनलाई बारम्बार बजेट विनियोजन गर्न सक्ने अवस्था नभएकाले संघ र प्रदेश सरकारबाट बजेट नआए निर्माण कार्य अघि बढाउन चुनौती थपिने बताउनुभयो । जिल्ला सदरमुकाम चरिकोटबाट उत्तरतर्फ करिब ७ किलोमिटरको यात्रापछि राङराङथली पुग्न सकिन्छ । सडकमार्ग मार्फत सदरमुकाम चरिकोटबाट देउराली हुँदै पुग्न सकिन्छ । काठमाडौंबाट सार्वजनिक बसमा तथा सुमो र आफ्नै निजी गाडीमा आउन सकिन्छ । चरिकोट बजारबाट सवारी साधनमा कालिञ्चोक कुरी जाने बाटो देउराली हुँदै पुग्न सकिन्छ भने पैदल यात्रा गरेर चरिकोट बजारबाट २ घण्टाको पैदल यात्रापछि राङराङथली तथा थामी संग्रहालय पुगिन्छ ।