images
images

माथिल्लो तामाकोशीको घाटा ८२ करोड, शेयरधनीले लाभांश पाउन अझै केहि वर्ष कुर्नुपर्ने

जिरी (दोलखा) । राष्ट्रिय गोरवको आयोजनाको रुपमा रहेको दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको घाटा बढ्दै गएको छ ।

माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्ममा ८२ करोड ४८ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको कम्पनीले यो वर्षको दोस्रो त्रैमासिकसम्म ८२ करोड ४८ लाख खुद नोक्सानी व्यहोरेको छ । यसअघि दोस्रो त्रैमासिकसम्म ७९ करोड ७७ लाख घाटा थियो । पछिल्लो तीन महिनाको अवधिमा कम्पनीले थप दुई करोड ७१ लाख बढी घाटा व्यहोरेको छ । विद्युत बिक्री आम्दानी र सञ्चालन आम्दानी बढेपनि वित्तीय लागत समेत बढ्दा कम्पनीको नोक्सानी बढेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ३६ दशमलव ७१ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ४८ दशमलव ८५ प्रतिशत बढेको छ । यो वर्षको दोस्रोे त्रैमासिक अर्थात कात्तिकदेखि पौष मसान्तसम्म तीन महिनाको अवधिमा माथिल्लो तामाकोशीले ४ अर्ब ९८ करोड ५१ लाख ८६ हजार बराबरको विद्युत उत्पादन गरी विक्री गरेको छ । गत वर्ष यही अवधिमा ३ अर्ब ६४ लाख ६५ हजारको विद्युत उत्पादन भएको थियो । पहिलो त्रैमासिकको तुलनामा हाल सुख्खा यामको कारण दोस्रो त्रैमासिकमा विद्युत उत्पादनमा कमी आएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

लाभांशको लागि कुनुपर्ने

बिगु गाउँपालिकास्थित गोगंरमा रहेको आयोजनाले २०७८ साल भदौ २५ गतदेखि व्यापारीक उत्पादन सुरु गरेको हो । विद्युत उत्पादन गरेर धमाधम विक्री गर्न थालेपछि शेयरधनीहरुमा छिट्टै मुनाफा तथा लाभांश पाउने आशा पनि पलाएको छ । तर, कम्पनी घाटामा रहेकोले शेयरको मुनाफा पाउन शेयरधनीले केही वर्ष कुर्नुपर्ने देखिएको छ । दोलखा जिल्लाबासी आयोजनाले विद्युत उत्पादन सुरु गरेपछि धमाधम बैंकमा डिम्याट खोलेर शेयर आ–आफ्नो नाममा गर्न व्यस्त छन् । उनीहरु छिट्टै लाभांश पाउने आशमा धमाधम डिम्याट खोलेर शेयर आ–आफ्नो नाममा सार्न हतारिँदा उता कम्पनी अझै घाटामा रहेकाले अहिलेनै शेयरधनीले लाभांश नपाउने देखिन्छ ।

४५६ मेगावाट क्षमताको सो आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत शेयर रहेको छ । दोलखा जिल्लाबासी स्थानीयको १५ प्रतिशत र सर्वसाधारणको १० प्रतिशत शेयर छ भने बाँकी २४ प्रतिशत सेयर कर्मचारी सञ्चय कोष, प्राधिकरण तथा कम्पनीका कर्मचारी र वित्तीय संस्थाका कर्मचारीको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले २०७५ सालमा सर्वसाधारणमा आइपीओ निष्कासन गरेर नेप्सेमा सूचीकृत भइसकेको छ ।

२०७२ सालको विनाशकारी भुकम्प र महंगी लगायतका विभिन्न कारणले आयोजनाको निर्माण अवधि लम्बिदा लागत निकै बढेको थियो भने अझै कम्पनीले भुक्तानी गर्नुपर्ने दायीत्व ठुलो रहेको छ । सोही कारण कम्पनीलाई अझै केही वर्ष ऋण भुक्तानीको लागि समय लाग्ने देखिन्छ । २०७८ साल असारमा आयोजनाको निर्माण सम्पन्न हुँदा निर्माण कार्यमा ५४ अर्ब रुपैयाँ र निर्माण अवधिको ब्याज ३२ अर्ब गरी कुल ८६ अर्ब लागत पुगेको कम्पनीको २०७७/७८ को वार्षिक प्रतिवेदनमा उल्लेख छ । २०७५ सालमा आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ हुने अनुमान गरिएको थियो ।

सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो । सो सँगै २०७५ सालमा गरिएको अनुमान भन्दा बढेर २०७७ सालमा ५२ अर्ब लागत लाग्ने अनुमान गरिएको थियो भने निर्माण अवधिको ब्याज २१ अर्ब ७४ करोड रहने अनुमान थियो । त्यसपछि पनि सम्पन्न हुने क्रममा अझ लागत बढेर ८६ अर्ब पुगेको थियो । कम्पनीका अनुसार कुल लागतमध्ये ५२ अर्ब रुपैयाँ खुद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धि लगायत गर्दा सो बराबरको खर्च निस्केको हो ।

कम्पनीको ऋण अझै धेरै रहेकोले विद्युत विक्रीबाट आएको रकम ऋण तिर्नमा उपयोग हुने भएकाले शेयरधनीले लाभांश पाउन भने अझै केहि वर्ष कुर्नुपर्ने नै देखिन्छ । यद्धपी, कम्पनीका अध्यक्ष समेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने गत वार्षिक साधारण सभामा चालु आर्थिक वर्षदेखि बोनस तथा लाभांश दिन सकिने बताउनुभएको थियो ।