images
images

बोचमा गम्भीर अवस्थामा फेला परेका युवकको मृत्यु, मदिरा सेवनगरी झगडा गर्ने प्रहरीको नियन्त्रणमा

  • १ फाल्गुन २०८०, मंगलवार १२:००

जिरी(दोलखा) । दोलखाको भीमेश्वर नगरपालिकामा गम्भीर घाइते अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ ।

गएराती भिमेश्वर नगरपालिका–८ स्थित लामोसाँघु–जिरी सडक अन्तर्गत बोच खण्डमा गम्भीर घाइते अवस्थामा फेला परेका स्थानीय अन्दाजी २५ वर्षीय सोनाम तामाङको मृत्यु भएको हो । उनको उपचारका क्रममा पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा आज विहान करिब ३ बजे मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनुभयो । ती युवक बा ८४ प १११३ नम्बरको मोटरसाइकलसँगै दुर्घटनाग्रस्त अवस्थामा फेला परेका थिए । उनको शरीरमा चोटहरू पनि देखिएकोे प्रहरीको भनाई छ ।

डिएसपी खड्काका अनुसार सोनामसँगै केही युवाहरु मध्यरातसम्म बोचमा मदिरा सेवन गरी बसेको र झगडा भएको देखिएको छ । अहिले चार जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ तथा अनुसन्धान थालेको बताएको छ । यद्धपी उनको कुटपिटबाट मृत्यु भएको हो वा दुर्घटनामा परि मृत्यु भएको भन्नेबारे खुलन बाँकी छ । मृतकको शवलाई पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ । पोष्टमर्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।