images
images

आज माघ १ गते, माघे संक्रान्ति पर्व मनाइँदै

  • १ माघ २०७९, आईतवार ०६:२४

दोलखा । आज माघ १ गते, धुमधामका साथ माघे संक्रान्ति पर्व मनाइँदैछ ।

पवित्र नदी, तलाउ, तथा त्रिवेणीमा नुहाएर पूजाआजा गरी खिचडी, घ्यू, चाकु, तीलको लड्डु, सखरखण्ड लगायतका परिकार खाई यो पर्व मनाउने गरिन्छ । आजको दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्ती हुने धार्मिक विश्वास छ । ज्योतिष शास्त्रका अनुसार आजदेखि सुर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यो पर्वलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । आजबाट उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जाने बताईएको छ । माघे संक्रान्तिदेखि साउने संक्रान्तिसम्म सुर्य उत्तरको बाटो हिँड्ने भएकाले यो ६ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
माघे संक्रान्ति पर्वलाई नेवार, मगर र थारु समुदायले पनि आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ माघी पर्व मनाउँदैछन् । थारु समुदायले नयाँ वर्षको रुपमा आजदेखि ५ दिनसम्म यो पर्व मनाउने गर्दछन् । माघेसंक्रान्तिका दिन मुलुकका विभिन्न प्रसिद्ध धार्मिक स्थल तथा नदी, तलाउमा भक्तजनको भिड लाग्ने गर्दछ । यसैबीच, माघे संक्रान्तिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै देश–विदेशमा रहनुभएका सबै नेपालीको सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिको कामना गर्नुभएको छ ।