images
images

आर्थिक मन्दिका कारण दोलखाका सहकारी संकटमा, अधिकाँशले ऋण लगानी रोके

दोलखा । आर्थिक मन्दि र कारोवारमा ह्रास आएपछि दोलखाका ठूला सहकारी संस्थाहरु संकटमा पर्न थालेका छन् ।

आर्थिक अभाव चुलिदै गएपछि जिल्लाका धेरैजसो सहकारी संस्थाहरुले ऋण लगानी बन्द गर्न थालेका छन् । तरलता अभाव, लगानी भएको ऋण समयमै असुली हुन नसक्नु र बजारमा दैनिक बचत संकलनमा कमी आउन थालेपछि सहकारी संस्थाहरु आर्थिक संकटमा परेका हुन् । जसका कारण जिल्लामा लगानीका हिसावले ठूला मानिएका सहकारी संस्थाहरुले नै ऋण लगानी ठप्प पारेका छन् ।

जनसचेतन साकोसले ५ लाख मात्रै ऋण दिने

दोलखाको बैतेश्वर गाउँपालिकास्थित मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक संकट थप जटिल बन्न थालेपछि ऋण लगानीको दायरालाई ह्वात्तै घटाएको छ । करोडौंको कारोवार गर्ने जनसचेतनले गत भदौ महिनामा प्रति ऋणी एक करोड ऋण लगानी गरेकोमा असोजमा ५० प्रतिशत घटाएर ५० लाखमा झारेको थियो । कात्तिक महिनासम्म बढीमा ५० लाखसम्म ऋण प्रवाह गरिरहेको जनसचेतनले मंसिरमा ऋणको दायरालाई खुम्च्याएर ५ लाखमा सिमिति गरेको छ ।

२ अर्व ३४ करोड कूल पूँजी र १ अर्ब ४९ करोड बचत रहेको जनसचेतनले वचत बाहेक अन्य धितो जमानतमा ऋण लगानी नगर्ने निर्णय गरिसकेको छ । सहकारीको तरलता १३ प्रतिशत मात्रै रहेको र ऋण लगानी गर्न १५ प्रतिशत भन्दा माथि तरलता हुनुपर्ने भएकाले ऋण लगानीको दायरालाई घटाएको जनाएको छ । वित्त बजारमा देखिएको तरलता अभाव, नयाँ बचत नभएको, ऋण उठाउन नसकिएको र बजारमा दैनिक संकलन हुने बचत नभएकाले थप ऋण लगानी नगर्ने निर्णय गरिएको जनसचेतन साकोसका व्यवस्थापक नवराज दहालले जानकारी दिनुभयो ।

जनमुखी साकोसले सबै ऋण लगानी रोक्यो
सहकारीको आर्थिक अवस्था नाजुक बन्न थालेपछि वैतेश्वर गाउँपालिकामै रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले पनि अहिले सबै प्रकारका ऋण प्रवाह रोकेको छ । आकस्मिक ऋण र बचत धितो ऋण बाहेक अन्य सवै प्रकारका ऋण रोकिएको सहकारीले जनाएको छ । जनमुखीमा ११ दशमव ६५ प्रतिशत तरलता रहेको र तरलता १५ प्रतिशत भन्दा माथि नगएसम्म ऋण प्रवाह गर्न सक्ने अवस्था नभएको जनमुखी साकोसका व्यवस्थापक भेषबहादुर मिजारले जानकारी दिनुभयो । यसअघि प्रतिव्यक्ति १० लाख रुपैँयासम्म ऋण लगानी गर्ने गरेको जनमुखीले आर्थिक संकटमा परेपछि ऋण प्रवाह ठप्प पारेको हो । १ अर्ब १९ करोड कुल चुक्ता पुँजी रहेको सहकारी संस्थाले असोजमा १ सय ४३ जना र कात्तिकमा १ सय ७४ जनालाई न्यूनतम १० हजारदेखि १० लाखसम्म लगानी गरेको थियो ।

जनउपकारले ऋणको दायरा घटायो
दोलखाको गौरीशंकर गाउँपालिकामा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाले पनि ऋणको दायरा घटाएको छ । अघिल्लो वर्षको पुससम्म ३० लाखसम्म ऋण लगानी गर्दै आएको जनउपकारले अहिले ऋणको दायरा घटाएर १५ लाखमा झारेको छ । एकै व्यक्तिलाई ठूलो लगानी नगर्ने तर धेरै जनालाई थोरै ऋण लगानी गर्ने उदेश्यका साथ ऋण लगानीको दायरा घटाइएको साकोसले जनाएको छ । जनउपकार साकोसले असोजमा १ सय २५ जनालाई १ करोड ३८ लाख ८३ हजार ५ सय, कात्तिकमा १ सय ३९ जनालाई २ करोड २७ लाख ६४ हजार र मंसिरमा १ सय ५८ जनालाई १ करोड ९१ लाख ८२ हजार ऋण लगानी गरेको छ । उनीहरुलाई न्यूनतम १० हजारदेखि अधिकतम १५ लाखसम्म ऋण प्रवाह भएको जनउपकार साकोसका व्यवस्थापक चुडामणि घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको बाह्य ऋण नभएका कारण हाल सहकारीको तरलता १५ प्रतिशत कायम छ ।

साउनदेखि नै ऋण लगानी ठप्प
दोलखा सदरमुकाम चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले गत साउनदेखी नै अत्यावश्यक बाहेकका क्षेत्रमा ऋण लगानी ठप्प पारेको छ । बचत जमानी र अत्यावश्यक ऋण १० देखि १२ लाखसम्म प्रवाह गरिए पनि अन्य सवै प्रकारका ऋण लगानी रोकिएको सहकारीका व्यवस्थापक दिपक बस्नेतले जानकारी दिनुभयो । सहकारी क्षेत्रमा वित्त संकट देखिएसँगै अनुत्पादक क्षेत्रको लगानी ठप्प पारीएको हो । यसअघि प्रतिव्यक्ति ४० लाखसम्म ऋण लगानी गर्ने गरेको हाम्रो जनकल्याणले आर्थिक संकटका कारण ऋण लगानीमा कडाइ गरेको हो ।

मिलिजुली कालिञ्चोक साकोसले २० लाखसम्म लगानी गर्दै
जिल्लामा कारोवारको हिसावले अगाडि देखिएका चार वटा सहकारी संस्थाले आर्थिक संकटका कारण ऋण लगानी ठप्प पारेपनि सदरमुकाम चरिकोटमै रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी ंसंस्थाले भने हाल प्रतिव्यक्ति २० लाखसम्म ऋण लगानी गरिरहेको छ । कोरोना महामारी अघिसम्म प्रतिव्यक्ति ५० लाखसम्म ऋण लगानी गर्ने गरेको मिलिजुलीले कोरोनापछि ऋणको दायरालाई घटाएर २० लाखमा झारेको थियो । सहकारीमा हाल १४ प्रतिशत तरलता रहेको र प्रतिव्यक्ति २० लाखसम्म ऋण लगानी भइरहेको सहकारीका व्यवस्थापक ईश्वर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले हाल न्यूनतम ५० हजारदेखि अधिकतम २० लाखसम्म ऋण लगानी गरिरहेको छ । मिलिजुली कालिञ्चोक साकोसले असोजमा ८८ जनालाई २ करोड ३ लाख ९ हजार, कात्तिकमा ५२ जनालाई १ करोड २३ लाख १४ हजार र मंसिरमा ७६ जनालाई १ करोड ७८ लाख ६६ हजार ऋण लगानी गरेको छ ।

माग अनुसारको ऋण दिन सकेन
पर्यटकीय नगरी जिरीस्थित एकिकृत फ्रेण्डसिप साकोसले पनि माग अनुसारको ऋण लगानी गर्न सकेको छैन । तरलता अभावका कारण एकिकृत फ्रेण्डसिपले पनि आकस्मिक बाहेकका ऋण लगानी रोकेको हो । दोलखाका अधिकाँश सहकारी संस्थाहरुले तरलताको कारण देखाउँदै ऋण लगानी रोकेपछि शेयर सदस्यहरु भने मारमा परेका छन् । अनुत्पादक क्षेत्रमा ऋण लगानी नहुँदा घर निर्माण गर्दै गरेका सदस्यहरु मारमा परेका छन् भने सहकारीहरुले आकस्मिक बाहेकका सबै ऋण रोकेपछि अन्य सदस्यहरु पनि समस्यामा परेका छन् ।