images
images

बिधुत समस्या समाधानका लागी रामेछापका प्रदेश सांसदले सुरु गरे पहल

  • ४ पुष २०७९, सोमबार २०:३७

जिरी (दोलखा) । रामेछापमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदहरुले जनतामाझ प्रतिवद्धता गरे अनुसारको कामको थालनी गरेका छन् ।

जिल्लाबाट बागमती प्रदेशसभामा निर्वाचित सांसद तारानारायण श्रेष्ठ र युवराज चौलागाईले जनता माझ प्रतिवद्धता गरे अनुसारको काम सुरु गरेका हुन् । उनीहरु पहिलो चरणमा जिल्लाको विद्युतीय समस्यालाई समाधान गर्न लागिपरेका छन् । रामेछापमा खुल्ला रुपमा गरिएको विद्युत विस्तारले वर्षेनी भौतिक र मानवीय क्षति पुगिरहेको बेला सांसद श्रेष्ठले विगतमा हुँदै आएको घटनालाई अन्त्य गर्न त्यसको विकल्प खोज्न प्राधिकरणलाई सचेत गराउनुभयो । आज नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उहाँले विद्युत प्रसारण खुल्ला रुपमा विस्तार गर्दा व्यापक रुपमा मानवीय र भौतिक क्षति पुगेको भन्दै क्षति न्युनिकरण गर्नका लागि जिल्लाभर एबीसी थ्रि फेज केवल तार विद्युत पोल विस्तार गर्न माग गर्दै निवेदन पेश गर्नुभयो ।

रामेछापको क्षेत्र नम्बर १ बाट बागमती प्रदेशसभामा निर्वाचित सांसद श्रेष्ठको निवेदन बुझ्दै कार्यकारी निर्देशक घिसिङले रामेछापको सो समस्याको समाधान छिट्टै सम्बोधन हुने बताउनुभयो । रामेछापमा खुल्ला विजुली विस्तारका कारण वर्षेनी मानिसको ज्यानै जाने घटना हुने गरेको छ ।

रामेछापकै क्षेत्र २ बाट प्रदेशसभामा निर्वाचित सांसद युवराज चौलागाईंले पनि जिल्ला रहेको विद्युतको समस्या समाधान गर्न पहल सुरु गर्नुभएको छ । सांसदमा निर्वाचित भएसँगै उहाँले गत मंसिर २१ गतेनै जिल्ला विद्युत् प्राधिकरण रामेछापको प्रमुखसँग छलफल गरेर रामेछापमा भएको विद्युतको समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले विद्युत प्राधिकरणका प्रमुख दिपेन्द्र बुढाथोकीसँग जिल्लामा रहेको विद्युतको नांगो तार विस्थापन र कालोतार जडान, सिंगल फेज ट्रान्सफर्मर परिवर्तन गरी थ्री फेज जडान र जिल्लामा रहेको २ वटा अस्पताल रामेछाप अस्पताल र मन्थली अस्पतालमा डेडिकेटेट लाइन जडान गर्न तत्काल काम थाल्न आग्रह गर्नुभएको छ ।