images
images

कान्तिपुर सहकारीका अध्यक्ष पक्राउ, ६ अर्ब बढी हिनामिना

  • ८ फाल्गुन २०८०, मंगलवार १६:५०

काठमाडौं । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी सहकारी ठगी मुद्दामा पक्राउ परेका छन् ।

प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी आरोपमा पीडितहरुले उजुरी दिएपछि अध्यक्ष ठकुरीलाई पक्राउ गरिएको हो । सहकारी ठगीको उजुरी परीरहेकाले ठकुरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनीसहित ६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट यसअघि पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएकाकोे खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको खुलिसकेको छ ।

कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ स्थानमा सेवा विस्तार गरेको थियो । सहकारीमा गत असारमा ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत रहेको थियो । असारपछि संस्थाले केही बचकर्तालाई जग्गा दिएर ‘सेटलमेन्ट’ गरे पनि संस्थाले समस्या समाधानका लागि तदारुकता नदेखाएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको विभागले जनाएको थियो । सहकारीले गत असारमा सेयर पुँजी करिब ४० करोड र ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको थियो । सहकारी सञ्चालकहरुका अनुसार ६ अर्ब २२ करोड ऋण लगानीमध्ये मुस्किलले ३० प्रतिशत वास्तविक हो ।

सहकारी विभागको नियमन क्षेत्रभित्र सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्यगरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । मन्त्रालयले पठाएको समस्याग्रस्त घोषणा पत्र प्राप्त भएको र सहकारी विभागले गरेको अनुसन्धान फाइल मगाएको समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले बताउनुभयोे । उहाँका अनुसार विभागबाट फाइल आएपछि सहकारीको सम्पत्ति र दायित्व खोजी सुरु हुनेछ ।