images
images

बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा, काठमाडौंमा प्रदर्शन र बिरोध सभा

  • ३ आश्विन २०८०, बुधबार १४:१२

काठमाडौं । संसद्‌मा पेस भएको प्रस्तावि शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । देशभरबाट आएका हजारौँ शिक्षकहरु बुधबार काठमाडौंको सडकमा उत्रिएका हुन् ।

सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ । शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुने छन् । सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका शिक्षकहरूले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर सम्म मार्च पास गरेका छन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन् । 

शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साविक उमावि, अस्थायी÷करार, शिक्षक सिकाए अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकार हुनुपर्ने लगायतको १७ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेको छ ।