images
images

प्रदेश मन्त्रालयका सचिवलाई सलामी, छाता ओढेर प्रहरीको भवन उदघाटन

  • १३ श्रावण २०८०, शनिबार १४:३०

दोलखा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुब गैंडाले दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित किराँतिछाप प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

शुक्रवार दिउँसो सचिव गैंडाले सिमसिम पानीका वीच छाता ओढेर नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकारको करिव २ करोड २५ लाख लागतमा निर्माण भएको प्रहरी चौकी भवन शिलान्यासकालागि आन्तरिक मामिला सचिव गैंडा दोलखा आउनु भएको थियो । सिमसिम पानी परेपछि सचिव गैंडाले छाता ओढेर नैं भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनको क्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सचिव गैंडालाई छाता ओढाएर सहयोग गर्नुभएको थियो ।

भवन उद्घाटन अघि सचिव गैंडालाई दोलखा प्रहरीले नवनिर्मित प्रहरी चौकी भवन परिसरमा रातो पिर्का (प्रहरीको भनाईमा ‘सलामी डेस्क’) मा राखेर सलामी दिएको थियो । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय विभागीय मन्त्रालय भएका कारण दोलखा प्रहरीले औपचारीकरुपमा सचिव गैंडालाई सलामी सहितको सम्मान दिएको हो । भवन उद्घाटनकालागि बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरिक्षक (डिआईजीपी) किरण राणा पनि दोलखा आउनु भएको थियो ।

सामान्यतया प्रहरी चौकी भवनहरुको उद्घाटन प्रहरीका उच्च अधिकारीहरुवाट हुने गरेपनि किराँतिछाप प्रहरी चौकीको भवन भने आन्तरिक मामिला मन्त्रालयका सचिववाट उद्घाटन गरिएको हो । नेपाल प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा प्रहरी चौकीका भवनहरु प्रदेश प्रहरी प्रमुख वा सो भन्दा उच्च तहका प्रहरी अधिकारीहरुवाटै उद्घाटन गर्न सक्ने उल्लेख छ । सिमित अतिथिलाई मात्र निम्तो दिईएको भवन उद्घाटन समारोहमा भीमेश्वर नगरपालिकाका नगर उपप्रमुख कमला बस्नेत, दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्का लगायतको उपस्थिती थियो ।

नेपाल प्रहरीको किराँतिछाप प्रहरी चौकीको भवन खानी–छायाँस्वरी जेभीले निर्माण सम्पन्न गरेको हो ।