images
images

डेढ वर्षदेखि माथिल्लो तामाकोशीको विजुली किन्न भारतको आनाकानी

  • ५ पुष २०७९, मंगलवार १५:१४

दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत किन्न भारतले आनाकानी गरिरहेको खुलासा भएको छ ।

चिनियाँ कम्पनीले आयोजना निर्माण गरेको कारण देखाउँदै भारतले तामाकोशीको विजुली किन्न डेढ वर्षदेखि आनाकानी गरीरहेको खुलेको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तराष्ट्रिय मञ्चमा चिनियाँ निर्माण कम्पनीले निर्माणको काम गरेको भन्दै तामाकोशीको विजुली किन्न भारतले आनाकानी गरेको खुलासा गर्नुभएको छ । मुलुककै ठुलो ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादन भएको विजुली खरिद गर्न नेपालले गरेको प्रस्तावलाई भारतले डेढ वर्षदेखि अल्झाएर राखेको छ । यता नेपाल विद्युत प्राधिरकणले भारतबाट छिट्टै विजुली निर्यात गर्न अनुमति पाउने आशा मात्रै देखाइरहेको छ ।

नेपालको सबैभन्दा ठुलो ४ सय ५६ मेगावाट क्षमताको तामाकोशी आयोजनाबाट विद्युत खरिद नगर्ने अडानमा पु्र्नविचार गर्न सरकारले आग्रह गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सिभिल निर्माणको काम चीनको सिनो हाइड्रोले गरेको थियो भने अष्ट्रियाको एन्ड्रिज हाइड्रोले इलेक्ट्रोमेकानिकल र भारतको केईसी इन्टरनेसनले हाइड्रो मेकानिकलको काम गरेको थियो । अन्तराष्ट्रिय टेन्डर मार्फत छनोट भएका धेरै ठेकेदारहरुबाट निर्माण भएको तामाकोशी जलविद्युत आयोजनामा चिनियाँ सिनो हाइड्रोको संलग्नता रहेको भन्दै भारतले आयोजनाबाट उत्पादित विजुली किन्न नमानेको बताइएको छ ।