images
images

वैदेशिक रोजगारीकालागि युरोप प्राथमिकतामा, ८ देशसँग श्रम सम्झौताको तयारी

  • ४ पुष २०८०, बुधबार १४:०३

काठमाडौं । नेपालीहरुमा वैदेशिक रोजगारीकालागि युरोपको आकर्षण बढेसँगै सरकारले युरोपका केही देशसहित थप ८ देशसँग श्रम सम्झौताको तयारी गरेको छ ।

युरोपका देशहरुसँग श्रम सम्झौता नहुँदा नेपालीहरु व्यक्तिगत श्रम स्वीकृति लिएर महंगो शुल्क तिरेर वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला थप ८ देशसँग श्रम सम्झौताको तयारी भएको हो । नेपालले सन् २०२४ मा युरोपियन मुलुकहरु पोर्चुगल, पोल्याण्ड, युक्रेन, टर्की, माल्टा सहित कुवेत, ओमान र साउदी अरेबियासँग श्रम सम्झौता गर्न लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सम्झौताको मस्यौदा तयार पारेर सम्वन्धित देशमा पठाइएको छ । मस्यौदा बारे धारणा आएपछि सम्झौता प्रक्रिया अघि बढ्ने श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताउनुभयो ।

सरकारले पछिल्लो पटक रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । नेपालले यसअघि श्रम सम्झौता गरेका १२ मुलुक मध्ये कतरा, युएई, कोरिया, बहराइन, जोर्डन, इजरायल, मलेसिया लगायतका देश रहेका छन् ।

तस्वीरः पोर्चुगलको सुन्दर सहर ।