images
images

भीमेश्वर नगरः जातजाति, भाषा र संस्कृतिले भरिपूर्ण सहर

नेपालको बागमती प्रदेशको हिमाली जिल्ला दोलखाको भीमेश्वर नगरपालिका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले रमणीय नगरपालिका हो । संघीय राजधानी काठमाडौंवाट १३३ किलो मिटरको दुरीमा नगरपालिकाको केन्द्र चरिकोट रहेको छ । चरिकोट दोलखा जिल्लाको सदरमुकाम पनि हो ।

२०७५ सालको घरपरिवार तथ्याङ्क सर्वेक्षण अनुसार भीमेश्वर नगरपालिकामा १० हजार २ सय ५५ घरधुरी रहेका छन् । नगरपालिकाको कुल जनसंख्या ३६ हजार १ सय १५ रहेको छ । जातजातिको आधारलाई हेर्दा यो नगरपालिकामा सवैभन्दा बढी क्षेत्री जाति र सवैभन्दा कम शेर्पा जातिको बसोबास रहेको छ । भीमेश्वर नगरपालिकामा ४० दशमलव ६४ प्रतिशत क्षेत्री, १४ प्रतिशत नेवार, १२ दशलमव ५९ प्रतिशत तामाङ, ११ दशमलव ९८ प्रतिशत थामी र ८ दशमलव ८६ प्रतिशत ब्राम्हण रहेका छन् ।

भीमेश्वरमा २ दशमलव ९५ प्रतिशत बिस्वकर्मा, २ दशमलव ९१ प्रतिशत भुजेल, १ दशमलव ६८ प्रतिशत नेपाली र १ दशमलव ४५ प्रतिशत सार्की समुदायको बसोबास रहेको छ । भीमेश्वर नगरपालिका जातजाति, भाषा, धर्म र सांस्कृतिक हिसाबले विविधतायुक्त रहेको छ । अल्पसंख्यक शेर्पा, घर्ती (भुजेल), थामीदेखि नेवार, तामाङ र क्षेत्री समुदायको बाक्लो बसोबास रहेको छ । नगरवासीहरुले मुख्यगरी नेपाली, नेवारी, तामाङ, थामी र शेर्पा भाषा बोल्ने गरेका छन् । ८० दशमलव ३१ प्रतिशत नगरवासीले नेपाली, १० दशमलव ५९ प्रतिशतले तामाङ, ७ दशमलव ९० प्रतिशतले नेवार र १ दशमलव ४९ प्रतिशतले अन्य भाषा बोल्छन् ।

क्षेत्री समुदायको जनसंख्या सवैभन्दा बढी

भीमेश्वर नगरपालिकाको कुल जनसँख्याको ठूलो हिस्सा क्षेत्री समुदायले ओगटेको छ । नगरमा १४ हजार ६ सय ७६ जना अर्थात ४० दशमलव ६४ प्रतिशत क्षेत्री समुदाय रहेका छन् । भीमेश्वरका ९ वटा वडा मध्ये वडा नम्बर ५, ३ र ६ मा क्षेत्री समुदायको जनसंख्या उल्लेख्य छ भने वडा नम्बर १ मा संख्या कम रहेको छ । वडा नम्बर ५ माटीमा ५ हजार ८ सय ७३ जनसंख्या रहेकोमा क्षेत्रीको संख्या ३ हजार ७ सय ५९ छ । तर, ४ हजार ४ सय १९ जनसंख्या रहेको वडा नम्बर १ सुष्पाक्षमावतीमा क्षेत्री समुदायको संख्या ५ सय ८० मात्रै रहेको छ ।
नगरपालिकाको अधिकांश क्षेत्रमा क्षेत्री समुदायको बाक्लो उपस्थिती छ । वडा नम्बर १, २ र ९ बाहेक बाँकी ६ वटै वडामा जनसंख्याको हिसावले क्षेत्री समुदाय पहिलो देखिन्छ । क्षेत्री समुदायका १४ हजार ६ सय ७६ सहित २९ हजार ५ जना नागरिकले नेपाली भाषा बोल्ने गरेका छन् । दशैं, तिहार, कुल पुजा (दिवाली) लगायतका पर्वहरु यो समुदायका खास पर्व हुन् ।

प्राचिन सभ्यताको नेवार बस्ति

भीमेश्वर नगरपालिकामा क्षेत्री पछि दोश्रो जनसंख्या नेवार समुदायको छ । धार्मिक, ऐतिहासिक, पुरातात्विक एवँ सांस्कृतिक महत्वको दोलखा सहरमा नेवार समुदायको घना बस्ती रहेको छ । दोलखाका नेवार समुदाय र द्धाल्खा भाषाको निकै लामो इतिहास छ । नेपाल भाषामा द्धाल्खा भाषालाई सवैभन्दा पुरानो भाषाको रुपमा लिने गरिन्छ । दोलखाको ऐतिहासिक पृष्ठभूमी नेवार समुदायसँग जोडिएको छ । इतिहासकार बाबुराम आचार्यले ‘दोलखाको इतिहास पुरा नभएसम्म नेपालको इतिहास अधुरो रहने’ उल्लेख गरेका छन् । इतिहासकार आचार्यको यो भनाईले पनि प्राचिन सहर दोलखाको ऐतिहासिक पक्षलाई उजागर गरेको छ ।

नगरपालिकाको कूल जनसंख्याको १४ प्रतिशत नेवार समुदायको उपस्थिती छ । ५ हजार ५७ जना नेवार समुदाय भीमेश्वर नगरपालिकामा बसोबास गर्दछन् । वडा नम्बर २ दोलखा बजार र वडा नम्बर ९ लाकुँरीडाडामा नेवार समुदायको बाक्लो बस्ति रहेको छ । वडा नम्बर २ मा १ हजार ४ य ६ जना र वडा नम्बर ९ मा १ हजार २ सय ४७ जना नेवार समुदायका नागरिक छन् । यसका अलावा वडा नम्बर ३, ४ र ५ मा पनि नेवार समुदायको बाक्लो उपस्थिती छ । भीमेश्वर नगरको वडा नम्बर १ सुष्पाक्षमावतीमा नेवार समुदायको जनसंख्या ४७ मात्र रहेको छ ।

सवैभन्दा पुरानो द्धाल्खा भाषा

भीमेश्वर नगरपालिका वडा नम्बर २ र ३ स्थित प्राचिन सहर दोलखामा बसोबास गर्ने नेवार समुदायले द्धाल्खा भाषा बोल्ने गरेका छन् । लिखित अभिलेख नभए पनि द्धापर युगको अन्त्यतिर पाँच पाण्डव प्राचिन सहर दोलखामा आई गुप्तवा बस्दा गोप्य भाषाकोरुपमा छुट्टै भाषा बोल्न प्रयोगमा ल्याएको र सोही भाषा अहिलेको द्धाल्खा भाषा हो, भन्ने गरिन्छ । संस्कृतविद् शान्तकृष्ण श्रेष्ठले काठमाडौंमा उपत्यकामा बोलिने नेवारी भाषा भन्दा द्धाल्खा भाषा पुरानो भएको बताउनुभयो । उपत्यकामा बोलीने नेवारी भाषामा ७ रुप भएको र द्धाल्खा भाषाको ३१ रुप भएको बिषय द्धाल्खा भाषामा बिद्यावारिधी गर्ने रुद्रलक्ष्मी श्रेष्ठको अध्ययनवाट समेत पुष्टि भएको श्रेष्ठको भनाई छ । प्राचिन सहर दोलखाको नेवारी सभ्यता मञ्जुश्रीको पालाको रहेको र द्धाल्खा भाषा समेत सवैभन्दा पुरानो भएको उहाँको दावी छ ।

दोलखा बजारका नेवार समुदायले अहिले पनि द्धाल्खा भाषा बोल्ने गरेका छन् । घरपरिवारदेखि सार्वजनिक समारोहमा समेत यो भाषा चलनचल्तिमा रहेको छ । दोलखा सहरवाट काठमाडौं बसाई सराई गरेका नेवार समुदायहरुले पनि यहि भाषा बोल्दै आएका छन् । तर, दोलखा पुख्र्यौली घर भई पेशा, व्यवसायका क्रममा संघीय राजधानी काठमाडौं उपत्यका र विदेशमा गएकाहरु मध्ये नयाँ पुस्तामा द्धाल्खा भाषा बोल्ने क्रममा समस्या आउन थालेको स्थानीय बताउँछन् । काठमाडौंमा बोलिने नवारी भाषा र दोलखाको नेवारी भाषा फरक–फरक भएकाले दोलखा बाहिर बस्ने नयाँ पुस्तालाई शुद्ध द्धाल्खा भाषा बोल्न समस्या हुन थालेको छ । यद्धपि, नयाँ पुस्तामा पनि भाषा प्रवद्र्धनकालागि दोलखा सहरका सामाजिक संघ संस्थाहरु लागिपरेका छन् ।
प्राचिन सहर दोलखामा नेवार समुदायको जनसंख्या घट्न थालेको छ । दोलखावाट बसाई सराई गरेर काठमाडौं उपत्यकामा जानेहरुको संख्या बर्षेनी बढ्दो छ । कतिपय दोलखाका नागरिक काठमाडौंवाट पनि विदेश गएर पेशा व्यवसाय गरेर बस्न थालेका छन् । ‘छाडेर जानेको तुलनामा फर्किनेको संख्या निकै कम छ,’ स्थानीय शिवजी प्रधानले भन्नुभयो, ‘काठमाडौंमा घर हुने कतिपय दोेल्खेहरुको दोलखा सहरमा घर छैन । तर, पनि उनीहरु दोलखाको धार्मिक, सांस्कृतिक पर्व र अभियानमा चाँहि जोडिएका छन् । भाषा, संस्कृति र पहिचान दोेल्खेकै छ ।’

दोलखा सहरका नेवार समुदायले निकै प्राचिन र ऐतिहासिक द्धाल्खा भाषा बोल्ने गरे पनि भीमेश्वरका अन्य वडामा बसोबास गर्ने नेवार समुदायले नेवारी भाषा बोल्न छाडेका छन् । नेवारी भाषा बोल्न नजान्ने नेवारी समुदायले राष्ट्रिय भाषा नेपालीलाई नैं बोलिचालीको भाषामा प्रयोग गर्दै आएका छन् । नेवार समुदायको बाक्लो बस्ति रहेको भीमेश्वर नगरपालिका–९ लाँकुरीडाडाको सुर्के, भण्डारे लगायतका गाउँका नेवार समुदाय, वडा नम्बर ४ जिलुको टहले, वडा नम्बर ५ स्थित होक्सिलाका नेवारहरुले समेत नेवारी भाषा बोल्न छाडेका छन् । केही पुस्ता अघिसम्म टहले र होक्सिला वस्तिमा नेवारी भाषा बोल्ने गरिए पनि सो भाषा अहिले बोलिचालीको भाषावाट हराईसकेको छ । उनीहरुले नेपाली भाषालाई नैं चलचल्तिको भाषाकोरुपमा अपनाएको टहलेका नेवार समुदायका अगुवा बिष्णु श्रेष्ठले जानकारी दिनुभयो । यी दुई नेवार बस्तिमा नेवारी भाषाको प्रयोग हुन छाडेपनि नेवार समुदायको जनसंख्या भने बृद्धि भईरहेको छ ।

तामाङ जातिः पहिचान बढ्यो, भाषा संकटमा

दोलखा जिल्ला आदिवासी तामाङ जातिको पनि थातथलो हो । भीमेश्वर नगरपालिकामा पनि यो जातिको बलियो उपस्थिती छ । नगरपालिकामा बसोबास गर्ने मुख्य तीन जाति मध्ये तामाङ पनि एक पर्दछ । जनसंख्याको दृष्टिले क्षेत्री र नेवार पछि तामाङ समुदाय रहेका छन् । यो नगरपालिकामा तामाङ जातिको जनसंख्या १२ दशमलव ५९ प्रतिशत अर्थात ४ हजार ५ सय ४८ रहेको छ । नगरपालिकाको ९ नम्बर वडा लाँकुरीडाँडामा सवैभन्दा बढी तामाङ जातीको जनसंख्या १७ सय रहेको छ । यसैगरी वडा नम्बर ६ मा ९८२, ८ मा ९३३, ७ मा ४९८ र ३ मा ३१९ जना तामाङ रहेका छन् । भीमेश्वरको वडा नम्बर ४ जिलुमा तामाङको संख्या शुन्य छ भने वडा १ मा ९ जना मात्रै तामाङ रहेका छन् ।

भीमेश्वरका तामाङ समुदायले आफ्नो मातृ भाषाको प्रयोग गर्ने गरेका छन् । बोलिचाली, मेलापात, धार्मिक एवँ सांस्कृतिक पर्वहरुमा तामाङ समुदायका अगुवाहरुले आफ्नै भाषा प्रयोग गर्दै आएका छन् । तर, तामाङ समुदायका युवा पुस्ताले आफ्नो मातृ भाषालाई बिर्सिन थालेका छन् । ‘तामाङ भाषामा नेपाली भाषा मिलाएर बोल्ने र कतिपय युवा पुस्ताले मातृ भाषा बोल्दै नबोल्ने अवस्था छ,’ नेपाल तामाङ घेदुङ संघ दोलखाका अध्यक्ष समेत रहेका भीमेश्वर नगरपालिका–६ का वडाध्यक्ष नविन लामाले भन्नुभयो, ‘यहि क्रम जारी रहे । तामाङ भाषा नैं लोप हुने खतरा बढ्यो ।’ नेपालमा तामाङ भाषाको अहिलेसम्म लिपि तयार भएको छैन । तामाङ घेदुङ संघले बल्ल लिपि निर्माणको गृहकार्य गरिरहेको छ ।

भीनपा–३ स्थित चरिघ्याङ गुम्वाका प्रमुख लामा, पाल्साङ लामाले तामाङ भाषा, संस्कृति र कलाको संरक्षणको दायित्व स्थानीय सरकारको भएको बताउनुभयो । सरकार स्वयंले भाषा, संस्कृति र पहिचानको संरक्षण गर्न नसके अवको केही पुस्तामा तामाङ भाषा पनि लोप हुने खतरा रहेको टिप्पणी गर्नुभयो । भीमेश्वरका तामाङ समुदायको भाषा संकटमा पर्दै गएपनि संस्कृति, कला र पहिचानमा भने नयाँ आयाम देखिन थालेको छ । नयाँ संबिद्यान निर्माण र संघीयता कार्यान्वयनसँगै पहिचानको मुद्धा बलियो भएकाले त्यसको सकारात्मक प्रभाव गाउँ र टोल तहसम्म पुगेको तामाङ अगुवाहरुको भनाई छ ।

थामीको किपट भूमी, आफ्नै भाषा, आफ्नै संस्कृति

भीमेश्वर नगरपालिकाको वडा नम्बर १ स्थित सुष्पाक्षमावतीको राङ्राङ्थलीलाई थामी समुदायको उद्गमस्थल मानिन्छ । यो ठाउँलाई थामी समुदायले ‘किपट भूमी’ भनेर भन्दछन् । सिमान्तकृत थामी समुदायको उद्गमस्थल र उनीहरुको कूल देवता भूमे थान समेत यहि रहेको छ । राङ्राङ्थलीमा थामी समुदायका पुर्खा आएर ओडारमा बसेको र त्यहिँवाट सन्तान बृद्धि भई बिस्तार भएको नेपाल थामी समाजका केन्द्रीय सल्लाहकार समेत रहेका स्थानीय अगुवा बिच्छिकुमार थामी बताउनुहुन्छ । राङ्राङ्थली उद्गमस्थल भएको र बोसिम्पामा कूलको मुख्य मन्दिर भूमे थान भएका कारण थामी समुदायले यी दुई स्थानलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको स्थानकारुपमा लिने गरेका छन् ।

थामी अगुवा बिच्छिकुमारका अनुसार दोलखा मात्र नभई देशभर छरिएर रहेका थामी समुदाय पूजा अर्चनाकालागि भूमे थान आउने गरेका छन् । सो मन्दिरमा उभौली र उद्यौली पर्वमा बिशेष मेला समेत लाग्ने गर्दछ । भीनपा–१ सुष्पाक्षमावतिमा सवैभन्दा बढी थामी समुदायको जनसंख्या रहेको छ । ४ हजार ४ सय १९ जनसंख्या रहेको सो वडामा थामी समुदायको जनसंख्या मात्रै २ हजार ९ सय ३३ छ । भीमेश्वर नगरपालिकामा रहेका ४ हजार ३ सय २६ थामी समुदाय मध्ये आधा भन्दा बढी सुष्पाक्षमावतीमा बसोबास गर्दछन् । यो वाहेक वडा नम्बर २, ९ र ६ नम्बर वडामा पनि थामी समुदायको बस्ति रहेको छ । ती वडामा क्रमशः ६११, ३४९ र ३३६ जना थामी रहेका छन् । नगरपालिकाको वडा नम्बर ५, ७ र ८ मा थामी समुदायको संख्या शुन्य छ भने वडा नम्बर ४ मा ६ जना मात्रै थामी रहेका छन् ।

भाषा, संस्कृति र पहिचानले भरिपूर्ण यो समुदायका अधिकाँश मानिसहरुले थामी भाषा बोल्ने गर्दछन् । अपवाद वाहेक अधिकाँश युवा पुस्ताले पनि आफ्नो भाषा बोल्ने गरेका छन् । खासगरी राजनीतिक परिवर्तनकामी आन्दोलनपछि थामी समुदायको चेतनास्तर उच्च भएको देखिन्छ भने भेषभूषा, कला र संस्कृतिमा नयाँ जागरण पैदा भएको छ । आफ्नै भाषा, पहिचान र संस्कृति भएर पनि थामी समुदायको भाषाको आफ्नै लिपि बन्न सकेको छैन ।

अन्य जातजातिको अवस्था

भीमेश्वरमा क्षेत्री, नेवार, तामाङ र थामी समुदायको बाहुल्यता रहे पनि ८ दशमलव ८६ प्रतिशत ब्राम्हण, ६ दशमलव ०८ प्रतिशत दलित, २ दशमलव ९१ प्रतिशत भुजेल÷घर्ती, १ दशमलव १२ प्रतिशत शेर्पा र अन्य जातजाति १ दशमलव ५५ प्रतिशत रहेका छन् । यी सवै जातजातिहरु राष्ट्रिय भाषा नेपाली बोल्ने गरेका छन् ।

भाषा र संस्कृतिको संरक्षण

भीमेश्वर नगरमा बहु जाति, बहु भाषा र विविधतायुक्त समाज रहेको छ । लोपोन्मुख थामी जातिको उद्गम थलो र भाषादेखि, प्राचिन सहर दोलखाका नेवार जाति र द्धाल्खा भाषा भीमेश्वरका नगरका गहना हुन् । फरक जात, फरक धर्म र फरक भाषा सहितको विविधतायुक्त समाजमा नगरवासीहरु सामाजिक सहिष्णुताका साथ बसोबास गरिरहेका छन् । नगरपालिकाले जातजातिको भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनकालागि बर्षेनी बजेट बिनियोजन गर्दै आएको छ । तर, सो बजेट केन्द्रिकृत र पर्याप्त भने हुन नसकेको गुनासो छ ।

ऐतिहासिक एवँ पुरात्तात्विक महत्वको दोलखा सहरको संस्कृति, मेला र पर्व जोगाउन कठिन भईरहेको स्थानीय नेवार समुदायको भनाई छ । थामी, तामाङ लगायतका समुदायले आफ्नो भाषाको लिपि तयार गर्न सरकारको सहयोगको अपेक्षा गरेका छन् । जातजातिसँग सम्वन्धित मठमन्दि, गुम्वा, भुमे थान लगायतका धार्मिक सम्पदाहरुको संरक्षण, पुननिर्माण र प्रवद्र्धनकालागि पनि स्थानीय सरकारको सहयोग जरुरी छ । भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईस्वर नारायण मानन्धर जातजातिको धर्म, संस्कृति, कला र पहिचानको संरक्षणकालागि नगरपालिका लागिपरेको बताउनुहुन्छ । ‘भीमेश्वर सांस्कृतिक एवँ पर्यटकीय नगरी भएकाले कला, संस्कृतिको संरक्षणमा हामी लागि परेका छौं,’ नगर प्रमुख मानन्धरले भन्नुभयो, ‘जातजातिको भाषा, संस्कृति संरक्षण र प्रवद्र्धनमा जोड दिनेछौं ।’

नगर प्रमुख मानन्धरले पर्यटकलाई लक्षित गरेर दोलखाका जातजातिहरुको कला, संस्कृति र भेषभूषा झल्किने गरी सदरमुकाम चरिकोटमा भीमेश्वर सांस्कृतिक साँझ संचालन गर्ने बिषयमा समेत छलफल भईरहेको जानकारी दिनुभयो । प्रत्येक साता नगरपालिकाको सातदोवाटोस्थित कम्प्लेक्सको हलमा सांस्कृतिक साँझको आयोजना गर्दा दोलखाका आदिवासी जातजातिहरुको भाषा, संस्कृति र कला संरक्षणमा सहयोग पुग्ने उहाँको भनाई छ ।

स्रोतहरुः
भीमेश्वर नगरपालिकाको नगर पाश्र्वचित्र, २०७५
दोलखाको ऐतिहाकि रुपरेखा, द्धितीय संस्करण २०५९
थामी जातिको परिचय, प्रा.डा. गोपाल शिवाकोटी