images
images

दोलखाको सिंगटीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

  • ९ माघ २०८०, मंगलवार १९:३६

दोलखा । दोलखाको उत्तरी सिंगटी बजारमा आजबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

सिंगटी बजारको खोलिखिम खेल मैदानमा भएको प्रतियोगिताको प्रतिनिधिसभा सांसद गंगा कार्कीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दैै सांसद कार्कीले यस्ता प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने र नवप्रतिभाहरु प्रस्फुटन हुने बताउनुभयो । उहाँले खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

दोलखा जिल्ला खेलकुद विकास समितिको आयोजना र बिगु गाउँपालिकाको सहआयोजनामा आजबाट सुरु भएको प्रतियोगिता यही माघ १३ गतेसम्म चल्नेछ । प्रतियोगितामा भलिबल, दौड, कपर्दी, हाईजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो लगायतका खेल हुनेछन् । प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहका खेलाडीहरुको सहभागीता रहेको छ । खेलमा कक्षा १२ सम्म अध्यययनरत १८ वर्ष ननाघेका बिद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटीकोे अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर मानन्धर, जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेल, विगु गाउँपालिकाका अध्यक्ष सन्जिव ओलि, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, कालिञ्चोक गाउँपालिाकाका अध्यक्ष अर्जुन शिवाकोटी, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, तामाकोशी गाउँपालिकाका उपाध्यक्ष सिर्जना खड्का सुवेदी लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।