images
images

चर्चित अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी

  • ११ फाल्गुन २०७८, बुधबार १८:५५

काठमाडौं । चर्चित पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ ।

गायिका समिक्षा अधिकारीले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन् । उनी प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा पुगेकी थिइन् । यसअघि पनि समीक्षाले पलविरुद्ध उजुरी दिने तयारी गरेकी थिइन् । तर उनले प्रहरीमा उजुरी दिन लागेको सूचना पाएपछि पल शाह समीक्षालाई फकाउन पोखरा पुगेका थिए । उनीहरुबीच सहमति भएको खबर बाहिर आएको थियो । तर सोमवार अडियो रेकर्ड बाहिर आएपछि समीक्षाले तनहुँको दमौली पुगेर उजुरी दिएकी हुन् । समीक्षाले उजुरीमा कानून बमोजिम पल शाहलाई कडा सजायको माग गरेकी छन् ।

पलसँगको अडियो रेकर्डमा समीक्षाले विवाहको अड्डी कसेकी थिइन् भने महिला अधिकारकर्मी जस्मिन ओझासँगको बयान अडियो रेकर्डमा उनले पल शाहले आफूमाथि जबर्जस्ती करणीको प्रयास गरेको, मायाको नाटक गरेर धोका दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पन्छिन खोजेको बताएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उजुरी परेपछि शाहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढिसकेको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । सो दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।