images
images

रामबहादुर बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको सिन्धुलीमा मृत्यु, दुर्घटना की षड्यन्त्र ?

  • १० माघ २०८०, बुधबार ०८:४६

सिन्धुली ।  तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको मृत्यु भएको छ ।

सिन्धुलीकोे भिमानमा हिजो ट्याक्टरले ती किशोरीको बुवा सवार मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते किशोरीको बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो ।

यसैबीच, किशोरीका आफन्तले उनका बुबालाई षड्यन्त्र गरेर मारिएको हुन सक्ने आशंका गरेका छन् । ती किशोरीका बुवाले केही दिनअघि मात्रै आफ्नी छोरीलाई भएको यौन शोषणबारे मिडियामा आएर बोलेका थिए । ठक्कर दिने ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको जनाएको छ । किशोरीलाई बाल यौन शोषण गरेको अभियोगमा बम्जन हाल महोत्तरी जिल्ला कारागारको हिरासतमा छन् ।

किशोरीको बुबाको मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरले अर्काे ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो । सो मोटरसाइकलका चालक भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।