images
images

हारको ह्याट्रिकबाट जोगिए सिटौला, ओखलढुंगाकी चम्पादेवी कार्कीलाई फापेन चुनाव

  • ११ माघ २०८०, बिहीबार १९:४५

काठमाडौं । १९ पदका लागि आज राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदा कोशी प्रदेश बाहेक ६ वटै प्रदेशमा सत्ता गठबन्धन क्लिन स्वीप गर्न सफल भएको छ ।

निर्वाचन अन्तर्गत १८ पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुँदा एक जनाले हारमा चित्त बुझाउनुपरेको छ । १९ पदको लागि भएको निर्वाचनमा एक पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । बाँकी जित सत्ता गठबन्धनको पोल्टामा परेको छ । कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनबाट चम्पा कार्की उम्मेदवार बनेकी थिइन् । उनलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला ५०८६ मतभारसहित निर्वाचित भइन् । चम्पा कार्कीले ४९९२ मतभार मात्रै प्राप्त गरिन् । कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये ३ प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबन्धनकी कार्की पराजित बनेकी हुन् । उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी थिइन् । कार्की माओवादी सशस्त्र युद्धकी घाइते हुन् ।

माओवादी नेताहरूका अनुसार उनी रामेछाप र ओखलढुंगाको सिमानामा खडा गरिएको मोर्चामा थिइन् । ओखलढुंगाबाट ब्लकिङमा खटिएकी कार्कीले युद्धमा पूर्णकालीन होमिएको १४ महिना नहुँदै दाहिने हात गुमाउनुपरेको थियो । तर, तिनै कार्कीको जीवनमा अर्को एउटा नमीठो हारको छाप आज लागेको छ । संसदको माथिल्लो सदनको सांसद बनेर नयाँ बानेश्वर छिर्ने उनको रहर हारसँगै मरेको छ ।

यो प्रदेशमा पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौला ५२९२ मतभारसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उद्धव पौडेलले ४५६२ मतभर पाएका थिए । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला हारको ह्याट्रिकबाट जोगिएका हुन् । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत पाएका थिए ।
अर्थात गठबन्धनबाट पाउनुपर्ने मत उनले पाएका थिएनन् । तर, स्थानीय तहतर्फ भने उनले सोचेअनुसार मत पाएपछि सकारात्मक नतिजा प्राप्त भयो । स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए ।

लगातार २०७४ र २०७९ को निर्वाचनमा पराजित बनेका सिटौला आज सम्पन्न निर्वाचनमा भने विजयी भएसँगै अब उनलाई राष्ट्रियसभा अध्यक्षको प्रमुख दाबेदारको रूपमा समेत हेरिएको छ ।