images
images

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जिरी नगरपालिकाको कब्जामा

  • १३ माघ २०८०, शनिबार १७:०२

दोलखा । दोलखाको उत्तरी सिंगटी बजारमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जिरी नगरपालिकाले हात पारेको छ ।

सिंगटी बजारको खोलिखिम खेल मैदानमा सम्पन्न प्रतियोगिताको उपाधि जिरी नगरपालिकाको पोल्टामा पुगेको हो । उपाधी हात पारेको जिरीले ८ स्वर्ण, पाँच रजत र ४ काँस्य सहित १७ पदक पाएको छ । जितसँगै जिरीले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाएको खेलकुद व्यवस्थापनका अध्यक्ष बिमल ओलीले जानकारी दिनुभयो । प्रतियोगितामा बिगु गाउँपालिकाले दोस्रो स्थानमा चित्त बुझाएको छ भने तामाकोशी गाउँपालिकाले तृतीय स्थान ओगट्न सफल भएको छ । ६ स्वर्ण, ६ रजत र ८ काँस्य सहित २० पदक पाई दोस्रो स्थान हासिल गरेको बिगुले २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै, तेस्रो स्थान ओगटेको तामाकोशी गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ काँस्य सहित ९ पदक पाएको छ । योसँगै तामाकोशीले १० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

विजयी खेलाडीहरुलाई बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले पुरस्कार वितरण गर्नुभयो । दोलखा जिल्ला खेलकुद विकास समितिको आयोजना र बिगु गाउँपालिकाको सहआयोजनामा सम्पन्न प्रतियोगितामा भलिबल, दौड, कपर्दी, हाईजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो लगायतका खेल भएका थिए । प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहका खेलाडीहरुको सहभागीता रहेको थियो । कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरी शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बिगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओलीले खेलाडीहरुलाई प्रोत्साहनका लागि यस्ता प्रतियोगिताहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरी शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर लगायतको उपस्थिति रहेको थियो ।