images
images

आममाफी पाएपछि रेशम चौधरी जेलमुक्त

  • १५ जेष्ठ २०८०, सोमबार ०८:०३

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी आज छुटेका हुन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषदको बैठकले हिजो चौधरीको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो । २०७२ सालमा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा भदौ ७ मा टीकापुरमा हिंसात्मक घटना भएको थियो ।

सो घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । सोही घटनाको योजनाकारका रुपमा चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो ।