images
images

दर खाँदै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्

  • १३ भाद्र २०७९, सोमबार १३:०१

दोलखा । नेपाली नारीहरुको महान पर्व तिज अन्र्तगत आज माईती माओलीमा भेला भएर मिष्ठान्न परिकार सहित दर खाने गरिन्छ । भोलीपल्ट निरहार व्रत बस्ने महिलाहरुले अघिल्लो दिन माईती माओलीमा चेलीबेटी भेला भएर मिष्ठान्न परिकारसहित दर खाने गर्दछन् । दर खाने सबैको आ–आफ्नै तरिका हुन्छ । आफ्नो वरपर पाईने परिकारहरु खाएर दर मनाईन्छ । पहिले पहिले तिजको दरका रुपमा ढकनी, काँक्राको अचार आदी खाने चलन भएपनि पछिल्लो समय त्यसमा परिवर्तन भएको छ । आजकल पुलाउ, मासु, तरकारी, अचार, मिठाई आदी खाने गरिन्छ ।

दर खाँदा ध्यान दिनुपर्ने कुराहरु

भोलीपल्टको व्रतका लागि अघिल्लो दिन रातभर अर्थात तिजको दिन सुर्य नउदाउनजेल सम्म दर खाने चलन छ । तर स्वास्थ्यका हिसावले व्रत बस्ने अघिल्लो रात ढिलो खान खानु राम्रो हुँदैन । राति अवेरसम्म खाएको खाना राम्रोसँग पच्दैन । अझ दरका रुपमा खाईने खानामा चिल्लोको मात्रा बढि हुने हुँदा पचाउन समस्या हुन्छ । मानिसहरु सुतेपछि पाचन प्रणाली सुस्त चल्ने भएकाले सुतेपछि खानेकुरा पच्न पाउँदैन जसले गर्दा स्वास्थ्यमा विभिन्न किसिमको समस्या आउन सक्छ । व्रत बस्ने अघिल्लो दिन आडिलो भएर बसिराख्ने खाना खानुपर्छ, ताकी चाँडै भोक नलागोस । दर भनेपछि खानामा घ्यु समावेश गरिन्छ, घ्यु राखेको खानाले चाँडै भोक नलाग्ने विश्वास छ । तर चिल्लोलाई सन्तुलनमा राख्न दही, दुध, गेडागुडी, र सागजस्ता खानेकुरा मिलाएर खानुपर्छ । खानामा हल्का अमिलो अचार समावेश गर्दा फाईदा गर्छ । व्रत बस्नुअघि धेरै हेभी खाना खानुपनि राम्रो होईन ।

व्रत बस्ने मानिसले मासु जस्ता पच्न समय लाग्ने खाना खानुहुँदैन । यस्तै ग्यास्ट्रिकको समस्या भएका व्यक्तिले घ्यु राखेको दर खानुहुँदैन । व्रतअघि चिल्लो, पिरो र मसलेदार खानाबाट टाढै रहेको राम्रो, किनकी यसले भोको पेटमा रक्तचाप असन्तुलित गराईदिन्छ । भोलीपल्ट व्रत बस्ने नाममा रातभर धेरै खानुपनि राम्रो हुँदैन । व्रत अघि मिश्रिको काँडाका साथै दुधमा थोरै चिनि राखेर राम्रोसँग उमालेर खायो भने पनि छिटो भोक नलाग्ने बताईन्छ । तर, दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने खालका खाद्यबस्तु भने खान हुँदैन । अखाद्य तथा रंग हालेका मिठाई र विषादी हालेको फलफुल तरकारी तर्फ सचेत रहनुपर्छ । सजावटमा राखिएका मिठाई तथा फलफुल भन्दा घरमै बनाईएका ताजा परिकार खाएर दर मनाउँदा स्वास्थ्यलाई फाईदा पुग्ने भएकाले सबैले त्यसतर्फ ध्यान दिन जरुरी छ ।