images
images

ब्रत बस्दै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

  • १४ भाद्र २०७९, मंगलवार ११:३८

दोलखा । आज नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज । यो दिन महिलाहरु पानी समेत नपिई निकै कठोर व्रत बस्ने गर्दछन् । हुनत सबै उमेरका महिलाहरु व्रत बस्न उत्साहित हुन्छन र व्रत बसेको देखिन्छ, विशेषगरी विवाहित महिलाहरु त झन दिनभर पानी समेत नपिई व्रत बस्ने गर्दछन् । चिकित्सा विज्ञानमा तन्दुरुस्त मानिसलाई सातामा एक दिन व्रत बस्नु राम्रो मानिन्छ । हप्तामा एक दिन व्रत बस्दा मोटो व्यक्तिलाई पेट घटाउन मद्धत पुग्नुका साथै बुढोपन गराउने अक्सिडेटी स्ट्रेसलाई पनि कम गराईदिन्छ । व्लडप्रेसर सन्तुलित बनाएर कोलेस्ट्रोल कम गरि मुटु जोगाउन पनि व्रत फलदायी हुन्छ । दिमाग स्वस्थ राख्न पनि हप्तामा एक दिन व्रत बस्नु राम्रो हो । तर, व्रतको नाममा स्वास्थ्यनै विग्रिने अवस्था भने नम्तिन दिनु हुँदैन । व्रत बस्नु हरेक व्यक्तिको इच्छाको कुरा भएपनि तिज र अन्य केही दिन मात्रै अनियमित रुपमा व्रत बस्दा भने स्वास्थ्यमा समस्या पनि देखिन सक्छ ।

दिर्घरोगीले ध्यान दिनुपर्ने कुराहरु

धेरै दुव्लो मानिसलाई सामान्य अवस्थामै क्यालोरी नपुग्ने हुनाले ब्रत नबसेकै राम्रो हुने चिकित्सकहरुको भनाई छ । यस्ता मानिसहरु व्रत बस्दा क्यालोरी कम भएर बेहोस हुने तथा पक्षघात हुनसक्ने खतरा हुन्छ । मधुमेह रोगीले पनि व्रत नबसेकै राम्रो हुन्छ । मधुमेह भएको अवस्थामा औषधी सेवन गरेर चिनिको मात्रा नियन्त्रण गरिरहेको हुनाले व्रत बस्दा चिनिको मात्रा कम भएर विरामीको मृत्यु समेत हुनसक्छ । यसैगरी गर्भवति महिलाले पनि व्रत बस्नु गलत हो । कुनै रोगको औषधी सेवन गरिरहेका व्यक्ति पनि व्रत बस्नु राम्रो होईन । व्रत बस्दै गर्दा कमजोरी भयो भने व्रतका केही नियम तोड्न तयार हुनैपर्छ । जटिल अवस्थामा व्रत नै तोड्न तयार हुनुपर्छ । निराहार पानी पनि नपिई व्रत बस्दा अधिकांश महिलामा कमजोरी पना निम्तिन्छ ।
केही नखाँदा त्यसैपनि शरीरमा ग्लुकोजका मात्रा कम हँुदै जान्छ, अझ नाचगानले थप शक्ति खर्च हुन्छ । शरीरमा शक्ति कम हँुदा रक्तचापमा कमी भई चक्कर लाग्ने, टाउको दुख्ने, र बेहोस हुन सक्ने हुन्छ । व्रत वस्दा टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्या भए तत्काल शीतल ठाउँमा गएर आराम गर्नुपर्छ र ग्लुकोज पानी ताथ फलफुलको जुस पिउनु उपयुक्त हुन्छ । व्रत बस्दा कमजोरीका कारण कतिपय महिला बेहोस हुने अवस्था समेत आउँछ । अझ भोकै नाचगानमा सक्रिय हँदा शरीरबाट छिटो –छिटो पसिना निस्किएर जान्छ र पानीको मात्रा कम भएर डिहाइड्रेसन हुन्छ । डिहाइड्रेसनका कारण नाचगान गर्दा गर्दै हिँड्दाहिँड्दै ठाँउको ठाँउ ढल्ने हन्छ ।

त्यसैले व्रत बसेको व्यक्तिले हल्का कमजोरी महशुस गर्ने बित्तिकै पानी पिउने, फलफल खाने गर्नुपर्छ । अन्न नखाएपनि अन्य तागातदार फलफुल, जुस र पानी पिउने सवालमा सम्झौता गर्नु गल्ती हुन्छ । मधुमेहका रोगीलाई मात्रै होइन, कहिलेकाँही सामान्य व्यक्तिलाई पनि विभिन्न कारणले शरीरमा सुगर कम हुन सक्छ । निराहार व्रत बस्दा रगतमा सुगरको मात्रा कम भएर कमजोरी हुने तथा बेहोसै हुने खतरा रहन्छ ।

रमाइलो गर्दा गदै बेहोस भएको बिरामी कोमामा समेत जान सक्छन् । त्यसैले सुगर निकै कम भएर गाह्रो भएको आशंका भए तुरुन्त मिठाई, चकलेट या केही गुलियो चिज खानुपर्छ । निराहार व्रत बस्ने कतिपय महिलालाई एक्कासी रक्तचाप घट्ने एवम मुटुको धड्कन बढ्ने हुन्छ । अधिकांशलाई व्रत बस्दा टाउको दुख्ने र रिँगटा लाग्ने हुन्छ । यसको मुख्य कारण शरीरमा पानीको मात्रा कम भएर हो । यो अवस्थालाई लम्बिन दिनुहँुदैन । शारीरिक अवस्था सहज भए तुरुन्त शक्ति प्रदान गर्ने हल्का चिज खानुपर्छ । दिनभरको व्रत सकिएपछि पनि तिजको दिन बेलका अन्न नखाने धार्मिक मान्यता छ । व्रतको दिन बेलुका फलफुल र झोलयुक्त पदार्थ भने खान धार्मिक छट छ । दिनभरको भोक पछि थकित शरीरमा समन्वय हुनेगरी खान जानिएन भने तत्काल जटिल समस्या पनि निम्तिन सक्छ । दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन सक्दैन ।

कस्तो खानेकुरा खाने ?

तर, तत्काल इनर्जी दिने खालका चिज खानु राम्रो हुन्छ । यस्तो बेलामा रसयुक्त फलफुल उत्तम खाना हो । केरा, खरबुजा, आँप, क्राँक्रा लगायत फलफुल सेवन गर्नु सबैभन्दा राम्रो हुन्छ । यस्ता फलफुलले शरीरमा छिटो–छिटो पानी सञ्चार गर्छ र तागत दिलाउँछ । सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ । यस्ता सलादको पानी शरिरले लामो समयसम्म सञ्चय पनि गर्छ । यो गर्मीको मौसम भएकाले दिनभरको यात्रा, नाचगान र भोकले थकित शरीरले बेलका पानी कम भएको महसुुस गर्छ । यस्तो अवस्थामा अधिकांशले कोल्ड ड्रिंक्स पिउने गरेको पाइन्छ । फ्रिजमा राखिएको चिसोले केही बेर राहत दिन पनि रक्तसञ्चारमा असर गरेर मुटुमा खतरा निम्तिन सक्छ । तातिरहेको शरीरमा एक्कासी चिसो प्रवेश हुनु राम्रो हँदैन । चाहे फ्रिजमा राखेको पानीनै किन नहोस ।

स्वास्थ्यलाई ख्याल गरेर मात्र ब्रत बसौँ

दिनभर व्रत बस्दा भोक निकै लाग्छ । अनि व्रत सकिएपछि भोक मेट्न एकैपटक धेरै खाने अधिकांशको बानी हुन्छ यसले स्वास्थ्यलाई फाइदा गर्दैन । लामो व्रत पछि जुन कनै चिज पनि एकै पटक धेरै खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ । ठोस खाना मात्रै होइन, पानी पनि एक्कासी धेरै पिउनु हुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त हुन्छ । लामो समय खाली पेट बसेपछि शरीरमा उर्जा ल्याउन भन्दै व्रत पछि गुलियो चिया खाने बानी हुन्छ । तर, खाली पेटमा तत्काल चिया पिउनु पनि ठिक होइन यसले पेटमा असर गर्छ । त्यसोत दिनभर व्रत बसेपछि बेलुका सबैले अन्न नखाने भन्ने पनि हुँदैन । इच्छा अनुसार व्रतको दिन बेलुका अन्न खाने पनि धेरै हुन्छन् तर, यो अवस्थामा पनि विशेष ख्याल गर्नुपर्छ ।

यस्तोबेलामा मसलेदार खाना खानु राम्रो हुँदैन । रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । यसमा कार्वाेहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ । खाना सँग सलादको मात्रा धेरै खानुपर्छ । देखा सिकि र लहैलहैमा नलागी आफ्नो स्वास्थ्यलाई ख्याल गरेर व्रत बस्दा राम्रो हुन्छ । सम्पुर्ण नेपाली दिदिबहिनीहरुमा हाम्रो तर्फबाट पनि तिजको शुभकामना ।