images
images

कार्यकर्ताका छोराछोरी सरकारीमा पढ्नु पर्ने माग: शिक्षामन्त्रीकी छोरी अमेरिका उडिन !

  • १६ पुष २०७८, शुक्रबार ०४:३८

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो ।

समूह १० गण्डकीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्यले आफ्ना छोराछोरी अनिवार्य रुपमा समुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो । संघीय संरचनाअनुसार वैज्ञानिक शिक्षा नीति लागु गर्ने उल्लेख गर्नुपर्ने भन्दै सो समूहले उक्त प्रस्ताव गरेको हो ।

महाधिवेशनको चौथो दिन बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि भएको छलफलको समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । तर गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने शिक्षामन्त्री तथा माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलकी छोरी पढाईका लागि अमेरिका उडेपछि माओवादी केन्द्रको राजनीति गर्माएको छ ।

देवेन्द्र पौडेलकी छोरी गरिमा पौडेलले मेरिल्यान्डको बोवे स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन् । छोरीको दीक्षान्त समारोहमा सहभागी हुन नेता पौडेल र उनकी श्रीमती बलावती शर्मा केहि समय अगाडी अमेरिका पुगेका थिए। माओवादी नेता शक्ति बस्नेतकी छोरी संगम बस्नेत पनि अमेरिकामा उच्च अध्ययन गर्दैछिन् । उनकी श्रीमती सत्या पहाडी बेला बेलामा छोरी भेट्न अमेरिका पुगीरहन्छिन् । जनार्दन शर्माकी छोरी काव्यता गौतमले अमेरिकामा स्नातकोत्तर पूरा गरेकी छन् ।

महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो ।

जारी आठौं महाधिवेशनमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदैछन्।

दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुनेछन्। ती प्रतिवेदन पारित भएसँगै प्रचण्डले जवाफ दिनेछन्। प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान संशोधन प्रस्ताव हलबाट अनुमोदन भएपछि संशोधित विधान अनुसार केन्द्रीय समिति चुन्न निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए । माओवादी विधानमा बन्द सत्रबाट केन्द्रीय समिति निर्वाचित हुने र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रावधान छ।